गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ६ गते । नेपाल आयल निगमले बजारमा ग्यासको आपूर्ति सहज नहुन्जेल काठमाडौँको टेकु कार्यालयबाट ग्यास वितरण नियमित गर्ने भएको छ । बजारमा ग्यासको अभाव भएपछि निगमले गत बुधबारदेखि टेकु कार्यालयबाट डिपो सञ्चालन गरी विभिन्न ब्रान्डका ग्यास वितरण गर्दै आएको छ ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ग्यासको सहज नहुन्जेलसम्म वितरण गरिने जानकारी दिनुभयो । आयात नियमित भइरहेकाले पनि अभाव कम हुँदै गएको उहाँले जानकारी दिनुभयो । निगमले एभरेस्ट, सुगम, नेपाल र साईबाबा ग्यास वितरण गरिरहेको छ ।
उपभोक्ताले कार्यालय समयमा टेकुस्थित डिपोबाट यी चार वटै ब्रान्डका खाली सिलिन्डर साटेर भरिएका ग्यास लिइरहेका छन् । निगमका अनुसार टेकु डिपो सञ्चालन भएयता हालसम्म सुगम र एभरेस्टका ७२० र नेपाल ग्यासका ६७६ सिलिन्डर बिक्री भएका छन् ।
एक महिनाअघि भारतको बरौनी रिफाइनरी केन्द्र मर्मत हुँदा केही समय आपूर्तिमा समस्या हुँदा बजारमा ग्यासको अभाव भएको थियो । ग्यासको आपूर्ति सहज पार्न बढी मात्रामा ग्यासको आयात गरेकाले पनि अभाव कम हुँदै गएको निगमले जनाएको छ ।
बजारमा ग्यासको अभाव हुने आशङ्कामा उपभोक्ताले एकै पटक आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्न थालेपछि उपभोक्ताले ग्यासको अभाव खेप्नु परेको थियो । उपभोक्ताले घरमा भएका खाली सिलिन्डर भरिसकेकाले पनि अभाव क्रमशः हट्दै गएको हो । पछिल्लो समय ग्यासको आपूर्ति नियमित भइरहेकाले पनि ग्यासको अभाव क्रमशः घट्दै गएको निगमले जनाएको छ ।
उद्योगीका अनुसार बजारमा सामान्य अवस्थामा मासिक ४५ हजार मेट्रिक टन र जाडोका बेला मासिक ५० हजार मेट्रिक टन ग्यास खपत हुने गर्छ । अन्य सिजनको तुलनामा जाडो मौसममा १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेको छ ।
निगमका अनुसार बजारमा एक करोड ४२ लाख प्रमाणित ग्यास सिलिन्डर छन् । आवश्यकताभन्दा बढी सिलिन्डर बजारमा रहेको र उपभोक्ताले एकै पटक भर्न खोज्दा पनि बजारमा अभाव देखिने गरेको हो । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले उपभोक्ताले घरमा भएका खाली सिलिन्डर भरिसकेकाले ग्यास क्रमशः सहज बन्दै गएको जानकारी दिनुभयो ।
एक महिनाअघि ग्यासको आपूर्तिमा सामान्य अवरोध भएको र ग्यास अभाव हुन्छ भन्ने हल्लैहल्लाका पछि लागेर उपभोक्ताले एकै पटक ग्यास भर्न लागेकाले पनि अभाव देखिएको उहाँको भनाइ छ ।