• ५ फागुन २०८२, मङ्गलबार

भूराजनीतिक कारणले पोखरा विमानस्थल सङ्कटमा

blog

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः वर्तमान अवस्था र भविष्यको मार्गचित्र’ विषयमा मङ्गलबार पोखरामा भएको कार्यक्रमका सहभागी । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन ५ गते । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्ष भइसक्दा पनि नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । 

चीनको एक्जिम बैङ्कको करिब २८ अर्ब ऋणमा बनेको यो विमानस्थल भूराजनीतिक कारणले क्षमताअनुसार सञ्चालन नभएको भन्दै सरोकारवालाले चिन्ता जनाएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो विमानस्थल निर्माणमा १४ अर्ब रुपियाँ बराबरको अनियमितता भएको दाबी गर्दै पाँचजना पूर्वमन्त्री र १० जना पूर्व सचिवसहित ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । यस्तो अवस्थामा विमानस्थलको अनियमितताबारे छानबिन गरी दोषीलाई कारवाहीसँगै नियमित अन्तर्राष्ट्रिय उडानका लागि विभिन्न उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ । 

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः वर्तमान अवस्था र भविष्यको मार्गचित्र’ विषयमा सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सेसिफ) ले मङ्गलबार पोखरामा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले कूटनीतिक पहलमार्फत् ऋणको पुनर्संरचना र भारतीय धावनमार्ग खुलागरी उडान यसको दिगोपनको विकल्प भएको औंल्याएका छन् । 

सेसिफका कार्यकारी अध्यक्ष विजयकान्त कर्णले विमानस्थल गम्भीर संरचनात्मक संकटमा रहेको बताउदै यसलाई ‘सेतो हात्ती’ हुनबाट जोगाउन कूटनीतिक पहललाई तीव्रता दिनुपर्ने सुझाव दिनुभयो । अनुसन्धाता सुरंगना राज्यलक्ष्मी राणाले विमानस्थल निर्माणमा गम्भीर प्राविधिक त्रुटि र आर्थिक अनियमितता देखिएका तथ्यहरु औंल्याउँदै ठुला जहाजले ‘लोड पेनाल्टी’ व्यहोर्नुपर्ने कारण खोज्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विज्ञहरूले विमानस्थललाई ‘सेतो हात्ती’ र ‘भूतको विमानस्थल’ (घोस्ट एयरपोर्ट) को संज्ञा दिएकोमा प्रतिवाद गर्नुभयो ।  यस्ता नकारात्मक शब्दले पोखराको अपमान भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो विमानस्थल पोखरेलीले ५० वर्षसम्म संघर्ष गरेर, अनसन बसेर र आफ्नो पसिनाले सिञ्चित सम्पूर्ण जमिन दिएर बनाएको गौरव हो ।”

अहिले यो विमानस्थलको व्यस्तता र आन्तरिक उडानको पाटोलाई नियतवश लुकाइएको उहाँको जिकिर छ । अन्तर्राष्ट्रिय उडान सुरु हुन नसक्नुमा विमानस्थलका कर्मचारी वा प्राविधिक कारण नभई भू–राजनीतिक र कूटनीतिक समस्या जिम्मेवार रहेको आचार्यको तर्क छ । 

विमानस्थल निर्माणका क्रममा भएको भनिएका अनियमितता र भ्रष्टाचारका विषयमा छानबिन हुनुपर्नेमा सहमति जनाउँदै उहाँले त्यसको बहानामा आयोजनाको औचित्यमाथि नै प्रश्न उठाउनु गलत भएको धारणा राख्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले विमानस्थल सञ्चालन हुन नसक्नुमा नेपालको फितलो कूटनीति र केन्द्रिकृत मानसिकता जिम्मेवार रहेको आरोप लगाउनुभयो । भारतले महेन्द्रनगर र नेपालगन्जको हवाई रुट दिन अस्वीकार गर्नु र चीनले यसलाई बिआरआइ परियोजनामा राख्नुले पोखरा मारमा परेको उहाँको विश्लेषण छ । 

मुल्मीले भन्नुभयो, “चीनका जहाज किनेपछि युरोपियन युनियनले नेपालको आकाशलाई ब्ल्याक लिस्टमा राखेको १४ वर्ष भइसक्यो, जसलेगर्दा हाम्रो उड्डयन क्षेत्र धराशायी भएको छ ।” पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले पाँच दशकको सङ्घर्ष र पोखरेलीको सपनाको प्रतिफल यो विमानस्थल भएको विचार राख्नुभयो । 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख मणिराम लामिछानेले विमानस्थलले आन्तरिक यात्रुमा सुधार ल्याएको बताउँदै भारतका लखनउ, दिल्ली र देहरादुनजस्ता सहरबाट उडान सुरु गर्न सके पर्याप्त यात्रु मिल्ने दाबी गर्नुभयो ।