• ८ जेठ २०८१, मङ्गलबार

फर्काइएका मूर्तिहरूप्रति

blog

शताब्दी–शताब्दीदेखि

तिम्रो आँखामा प्रतिविम्बित नेपाल

ती कलाकारहरूको सौन्दर्ययुक्त समर्पण

देशलाई सभ्यता र संस्कृतिको उत्कर्षमा पु-याउने

विशिष्ट सिर्जनाहरू थिए । 


त्यसैले....

तिमीले यो देशलाई

शान्त र स्निग्ध स्वरूप दिएका थियौ । 

तिमीलाई ती प्रदूषित हातहरूबाट उता लगिँदा

सभ्यता, संस्कृति र

अरू धेरै कुराहरू पनि गएका थिए,

धेरै कुराहरू खण्डित भएका थिए । 


तिमी फर्कंदा...

तिमीसँगै,

हाम्रो जित पनि फर्केको छ

इतिहासले निर्माण गरेको

आस्था र विश्वास मात्र होइन,

यो देशप्रतिको निश्चिन्तता मात्र होइन

धेरै–धेरै कुराहरू फर्केका छन् । 

तिमीलाई उता लग्ने अब यहाँ

कोही हुने छैन । 

यो अठोट पनि तिमीसँगै फर्केको छ । 


ती हातहरू...

तिमीलाई उता पु¥याउने हातहरू

तिनीहरूलाई निगरानीमा राखेर

हामी हेरिरहेका छौँ

हाम्रो हेराइको विवशता र

अरू सबै विवशताहरूबाट उठेर

यो देशले अब,

अगाडिको पाइला टेकिसकेको छ

हामीले आर्जन गरेको शक्तिमा आबद्ध भएर ।


ती हातहरूले

तिमीलाई स्पर्श गर्न खोज्दा

त्यसलाई निस्तेज पार्ने तत्परता हामीसित छ

त्यो स्पर्श...

त्यसको हातको कठोर स्पर्शलाई

निस्तेज पार्न,

घृणाले र आक्रोशले प्रतिकार गरेर

तिरस्कारका आँखाले त्यसलाई हेनुपर्छ ।


हो, हामीसित प्रतिशोध छैन

तर तिरस्कार र चेतावनी बाँकी नै छ ।

तिमीलाई उता लग्ने ती हातहरू,

ती कठोर हातहरू

प्रत्येक दिन तिनीहरूको खान्तलासी लिएर

स्टोलन इमेजेज अफ नेपालको अगाडि 

अङ्कित गरेर, 

तिनीहरूलाई प्रदर्शनीमा राख्नुपर्छ ।


तिम्रो आगमनको यो जितमा

खुसीको नयाँ अध्यायहरू थप्दै

आश्वस्तता हस्तान्तरण गरेर

 तिमीलाई धेरै–धेरै हस्ताक्षरहरूले

सुरक्षा प्रत्यायोजन गरिसकेको छ । 

सिफल हाइट, काठमाडौँ ।