• ३ फागुन २०८२, आइतबार

‘चुनाव निष्पक्ष र भयरहित हुन्छ’

blog

पाख्रीबास समाचारदाता

पाख्रीबास, फागुन ३ गते । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले फागुन २१ गते हुने निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ । शनिबार प्रेस चौतारी धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पराजुलीले यस्तो बताउनुभएको हो ।

उहाँले निर्वाचन नजिकिएसँगै सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाउन कोशी प्रदेश सरकार लागिपरेको बताउनुभयो । चुनाव निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सङ्घीय सरकारसँग आवश्यक समन्वय गरिरहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “चुनावका लागि सबै सुरक्षा निकायसँग समन्वय भइरहेको छ ।” प्रदेश सरकार निर्वाचनकेन्द्रित भएर सुरक्षा बैठक तथा अन्तव्र्रिmयासमेत भइरहेको उहाँले बताउनुभयो । 

सबै जिल्लामा सुरक्षा कमान्डको पोस्ट र सरकारले आवश्यक काम गरिरहेकोसमेत बताउँदै उहाँले निर्वाचन निष्पक्ष र भयरहित वातावरण सम्पन्न गर्न सबैलाई आवश्यक साथ सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचन नजिकिएसँगै निर्वाचनविरोधी गतिविधिमा सामाजिक सञ्जालमा नकारात्मक तथा भ्रामक सूचना सम्प्रेषण गरेको पाइएको बताउनुभयो । उहाँले चुनावी गतिविधिलक्षित भ्रामक सूचना र तथ्यहीन सामग्रीले सामाजिक सञ्जालको दुरुपायोग बढ्दै गएको बताउनुभयो । 

सामजिक सञ्जालमा देखिएका जति पनि भ्रामक सूचना छन् ती सबै नेपालबाट मात्रै नभई विदेशबाट पनि सम्प्रेषण भइरहेको उहाँले बताउनुभयो । त्यसको नियमन गर्न कोशी प्रदेश सरकारले अनुगमन डेक्स स्थापना गरी काम गरिरहेको बताउनुभयो । नयाँ दल तथा स्वतन्त्रले नै त्यस्तो भ्रामक र तथ्यहीन सामग्री सामाजिक सञ्जालमार्फत फैलाउँदै गएको आरोप उहाँले लगाउनुभयो ।