• ३ फागुन २०८२, आइतबार

दुध बेचेरै महिनाको डेढ करोड

blog

दुध सङ्कलन गरिँदै । तस्बिर : अनिल पराजुली

हेटौँडा समाचारदाता

हेटौँडा, फागुन ३ गते । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा दुध बेचेर महिनाकै करिब डेढ करोड रुपियाँ भित्रिने गरेको छ । पालिकाभित्र दैनिक साढे छ हजार लिटर दुध सङ्कलन भई बिक्री हुँदै आएको र सोहीमार्फत मासिक त्यतिको रकम गाउँमै भित्रिने गरेको हो ।

“गाउँपालिकाभित्र दैनिक साढे छ हजार लिटर दुध सङ्कलन भइरहेको छ, दुध बेचेर मासिक पालिकामा डेढ करोड रुपियाँ भित्रिन्छ,” बागमती गाउँपालिका प्रवक्ता कमानसिं पाख्रिनले बताउनुभयो ।

दुध उत्पादन प्रवर्धनका लागि पालिकाले बिउपुँजीका रूपमा सात करोड रुपियाँ लगानी गरेको छ भने चिस्यान केन्द्र स्थापना गर्न झन्डै एक करोड रुपियाँ खर्च गरिएको छ । पालिकाले उपलब्ध गराएको बिउपुँजीबाट ७६१ जना कृषक लाभान्वित भएका छन् । आर्थिक वर्ष २०८०/८१ देखि गाईभैँसी खरिदका लागि प्रतिकिसान एक लाख रुपियाँ निब्र्याजी बिउपुँजी उपलब्ध गराइएको प्रवक्ता पाख्रिनले जानकारी दिनुभयो । उक्त रकम तीन वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

पालिकाले पशु बिमा कार्यक्रमसमेत सञ्चालन गरेको छ । किसानले पालेका पशु मरेमा राहत पाउने व्यवस्था मिलाइएको छ । उत्पादित दुधको बजारीकरणको जिम्मेवारी पनि पालिकाले नै लिएको छ । दुध बजारीकरणका लागि खरिपाटी डेरीसँग सम्झौता गरी प्रत्येक १५ दिनमा सहकारीमार्फत कृषकलाई भुक्तानी हुने व्यवस्था गरिएको छ । पालिका अन्तर्गतका ११ वटा दुग्ध उत्पादक सहकारी संस्थामार्फत दुध सङ्कलन भइरहेको छ । प्रत्येक सहकारीमा चिस्यान केन्द्र जडान गरी कृषकले उत्पादन गरेको दुध व्यवस्थापन गरिएको छ ।

भोर्लेनी, फापरबारी र नमुना दुग्ध उत्पादक सहकारी संस्थामा सबैभन्दा बढी दुध सङ्कलन हुँदै आएको छ । विशेष गरी बागमती–६ स्थित फापरबारी दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक करिब एक हजार तीन सय लिटर दुध सङ्कलन गर्दै आएको छ ।

आव २०८०/८१ मा दैनिक दुई हजार सात सय लिटर दुध सङ्कलन हुने गरेकोमा हाल बढेर दैनिक छ हजार ६५० लिटर पुगेको छ । राईगाउँ, बागमती, गढन, झुरझुरे, भोर्लेनी, फापरबारी, पाथीभरा, समाज उत्थान, प्रगति, बेतिनी र नमुना दुग्ध उत्पादक सहकारी संस्थामार्फत दुध सङ्कलन हुँदै आएको छ ।दुधमा आत्मनिर्भर बन्दै गएको पालिकामा दुध तथा मासु उत्पादनका लागि राँगाभैँसीपालनसमेत विस्तार हुँदै गएको छ । केही किसानले दैनिक २० लिटरभन्दा बढी दुध बिक्री गरी आम्दानी गर्दै आएका छन् ।