• २ फागुन २०८२, शनिबार

राजस्व असुली सकारात्मक

आन्तरिक राजस्व कार्यालय पोखराको प्रगति ८२ प्रतिशत

blog

जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको आन्तरिक राजश्व कार्यालय पोखराको भवन, तस्बिरः रमेश पौडेल

रमेश पौडेल

पोखरा, फागुन २ गते । 'जेनजी' युवाको आन्दोलनका क्रममा भौतिक क्षति व्यहोरेको आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म ८२ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कुल ३ अर्ब ५७ करोड ३२ लाख ९८ हजार रुपैयाँ लक्ष्य रहेकामा २ अर्ब ९४ करोड ९० लाख ३८ हजार रुपैयाँ संकलन भएको हो ।

कार्यालयका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले माघ महिनामा पनि लक्ष्यअनुरूप नै राजस्व संकलन भइरहेको जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा २ अर्ब ७१ करोड ८३ लाख १ हजार रुपैयाँ असुली भएको थियो । चालु वर्षको समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा असुली दर करिब ८ प्रतिशतले बढी हो । आन्दोलनका कारण कार्यालय व्यवस्थापनमा कठिनाइ भए पनि राजस्व संकलनले भने तीव्रता पाएको छ ।

कार्यालयका अनुसार आयकरतर्फ २ अर्ब ५४ करोड १८ लाख ४० हजार रुपैयाँ लक्ष्य रहेकामा १ अर्ब ९२ करोड ३१ लाख ८६ हजार रुपैयाँ असुली भएको छ । यो ७६ प्रतिशत प्रगति हो । गत वर्ष सोही अवधिमा १ अर्ब ८३ करोड ७३ लाख ४५ हजार रुपैयाँ असुली भएको थियो । यस्तै मूल्य अभिवृद्धि करतर्फ ९१ करोड ९ लाख १ हजार रुपैयाँ लक्ष्य रहेकामा ८४ करोड ४० लाख ५ हजार रुपैयाँ संकलन भई ९३ प्रतिशत प्रगति हासिल भएको छ । अन्तःशुल्कतर्फ १२ करोड २ लाख ३६ हजार रुपैयाँ लक्ष्य रहेकामा ११ करोड ५८ लाख ११ हजार रुपैयाँ असुली भई ९६ प्रतिशत प्रगति भएको कार्यालयले जनाएको छ ।

पुस मसान्तसम्म आयकरतर्फ ७१ हजार ९५० करदाता आबद्ध छन् । मूल्य अभिवृद्धि कर  मा १२ हजार ५७५ र अन्तःशुल्कतर्फ ४ हजार ७४३ करदाता आबद्ध रहेको कार्यालयले जनाएको छ । त्यस्तै २ लाख २३ हजार ३११ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएका छन् भने ईटिडिएस प्रयोजनका लागि ५७२ करदाताले विथहोल्डिङ स्थायी लेखा नम्बर लिएका छन् ।

आर्थिक ऐन, २०८२ को दफा २५ को उपदफा (१) र (२) बमोजिम ११४ करदाताले छुट सुविधा लिएका छन् । बक्यौता कर संकलनलाई प्राथमिकतामा राख्दै कार्यालयले टेलिफोन, बल्क एसएमएस तथा स्थलगत भ्रमणमार्फत करदातासँग सम्पर्क गरिरहेको जनाएको छ । आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सामग्रीको लिलामी प्रक्रियासमेत सम्पन्न गरिएको छ । समग्रमा लक्ष्यअनुसार शतप्रतिशत प्रगति नभए पनि अघिल्लो वर्षको तुलनामा वृद्धि देखिएकाले आगामी दिनमा बक्यौता असुलीलाई थप प्रभावकारी बनाइने कार्यालयले जनाएको छ ।