• २ फागुन २०८२, शनिबार

रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, फागुन २ गते । हेटौँडा उपमहानगरपालिका–५, पिप्ले स्थित कान्ति लोकपथ सडक खण्डमा रड लोड भएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–५ पिप्ले ढुंगेधारा बस्ने ३५ वर्षीय सुवास थिङको मृत्यु भएको हो । 

अनुहारमा चोट लागेर गम्भीर घाइते अवस्थामा उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा शुक्रवार राति १० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका सूचना अधिकारी नान्ती राज गुरुङले जानकारी दिनुभयो ।

शुक्रबार राति सडक छेउमा पार्किङ गरी राखिएको ना ५ ख १८६१ नम्बरको रड लोड भएको ट्रकमा सानोपोखराबाट पिप्ले तर्फ जाँदै गरेको ना २९ प ७०७२ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा दुर्घटना भएको उहाँको भनाइ छ । ट्रक र ट्रकचालक प्रहरीको नियन्त्रणमा रहेका छन् । 

यसैबिच पूर्व–पश्चिम सडकखण्डको मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित जङ्गलेश्वर महादेव मन्दिर नजिकै बसबाट लडेर गम्भीर घाइते हुनुभएका एकवृद्धको उपचारका क्रममा मृत्यु भएको छ । 

बस रोकेपछि शौचालय जान झर्ने क्रममा ढोकाबाट लडेर चितवन रत्ननगर नगरपालिका–६ बस्ने ६२ वर्षीय विष्णुबहादुर घिमिरे गम्भीर घाइते हुनुभएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।