काठमाडौं, फागुन २ गते । उत्कृष्ट प्रदर्शन, आत्मविश्वास र सशक्त टिमवर्कका साथ मिल्सबेरीले नवौं काष्ठमण्डप अन्तर ए–लेभल छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
रोमाञ्चक फाइनल खेलमा मिल्सबेरीका विशेष शाक्यले ४ अङ्क योगदान गर्दै टोलीलाई सुरुआती अग्रता दिलाउयनुभयो । सारांश भट्टराई र संघर्ष कठायतले समान २–२ अंक थप्दै जित सुनिश्चित गरे । प्रतिस्पर्धी टोली नामीका पामे हाङ राईले ६ अङ्क जोडे पनि मिल्सबेरीको सन्तुलित र सामूहिक खेलअघि टिक्न सकेन ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका विशेष शाक्य ‘मोस्ट भेलुएबल प्लेयर घोषित हुनुभयो । उहाँको निर्णायक भूमिका र नेतृत्व क्षमताले टोलीलाई उपाधिसम्म पुगाउन महत्वपूर्ण योगदान दिएको आयोजकले जनाएको छ । यसअघि शुक्रबार सम्पन्न सेमिफाइनलमा मिल्सबेरीले आयोजक काष्ठमण्डपलाई रोमाञ्चक प्रतिस्पर्धामा १५–१४ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
त्यस्तै, नामीले इस्लिङटनलाई ११–५ ले हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । विजेता टोलीलाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, काष्ठमण्डपका संस्थापक एवं प्रिन्सिपल डा. शिवा थापा तथा संस्थापक इला पियाले विशेष समारोहबिच ट्रफी तथा पुरस्कार प्रदान गर्नुभयो । दुई दिने प्रतियोगितामा ६ टिमले लिग–कम–नकआउट आधारमा प्रतिस्पर्धा गरेको काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जानकारी दिनुभयो ।