• २ फागुन २०८२, शनिबार

भेनेजुएलामा राजनीतिक दमन अन्त्यतर्फ कदम चाल्दै, १७ कैदी रिहा

blog

क्याराकस, फागुन २ गते । भेनेजुएलाका संसद अध्यक्ष होर्जे रोड्रिगेजले शनिबार १७ जना राजनीतिक कैदीलाई रिहा गरिएको घोषणा गर्नु भएको छ । उक्त कदम त्यति बेला आएको हो जब देशको संसदमा ऐतिहासिक राजनीतिक रिहाइ विधेयकको प्रस्तावमा छलफल जारी छ, जसले विपक्षी विरुद्ध अदालतको दमन रोक्ने उद्देश्य राखेको छ ।

संसद अध्यक्ष होर्जे रोड्रिगेजले राजधानी क्याराकसको ‘जोना ७’ कारागारमा रहेका यी व्यक्तिलाई रिहा गरिएको जानकारी सामाजिक सञ्जालमार्फत जनाउनु भएको छ । उहाँले भेनेजुएलाका नागरिकलाई शान्तिको मार्गमा अघि बढ्न र लोकतान्त्रिक सहअस्तित्व निर्माण गर्न निरन्तर प्रयास गर्न आग्रह गर्नु भएको छ, यद्यपि रिहा भएका १७ जनाको नाम सार्वजनिक गरिएको छैन ।

विधेयक लागु भएमा विगत २७ वर्षदेखि निकोलस मडुरो र उहाँका पूर्ववर्ती ह्यूगो चाभेजको शासनको विरोध गर्ने सबै विपक्षी विरुद्ध लगाइएका आरोप समेटिने अपेक्षा गरिएको छ । यस विधेयकले ‘राजद्रोह’, ‘आतङ्कवाद’ र ‘घृणा फैलाउने’ जस्ता आरोपलाई समेत राजनीतिक रिहाइको दायरामा ल्याउने प्रस्ताव राखेको छ । 

विधेयकको पारित प्रक्रिया केही दिनका लागि स्थगित गरिएको छ र फेब्रुअरी १९ मा पुनः बहस जारी राख्ने निर्णय भएको छ । यस विधेयकलाई भेनेजुएलामा राजनीतिक विरोधी विरुद्धको दमन अन्त्य गर्ने र लामो समयदेखि चलेको राज्यीय दमनको अन्त्य गर्ने महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ । 

यसले अझै धेरै राजनीतिक कैदीलाई रिहा हुने अवसर प्रदान गर्ने सम्भावना राखेको छ, जसको माग विपक्षी समर्थक र मानवअधिकार समूहले लामो समयदेखि गर्दै आएका थिए । यस कदमले भेनेजुएलामा शान्ति, न्याय र लोकतान्त्रिक सहअस्तित्वको निर्माणतर्फ सकारात्मक सङ्केत दिएको छ । रासस/एएफपी