बिष्णुप्रसाद पोखरेल
दमक, फागुन २ गते । झापाको अर्जुनधारा नगरपालिकामा अनौठो तवरले मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोटरसाइकल चलाउँदै गर्दा चालक विरामी परेर मोटरसाइकल दुर्घटना भएको बताइएको छ । शुक्रबार राति करिब ८ बजेतिर अर्जुनधारा –८ स्थित बौद्ध गुम्बानजिकै स्थानीय ३२ वर्षीय साजन गुरुङको मोटरसाइकलबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
चालकमा उच्च रक्तचाप (प्रेसर) सम्बन्धी समस्या रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । उहाँका अनुसार प्र. १–०१–०१६प ८८६४ नम्बरको मोटरसाइकल आफैंले चलाएर प्रणामी मन्दिरबाट शनिश्चरेतर्फ जाँदैगर्दा गुरुङ अचानक असहज महसुस भएपछि सवारी रोक्नेक्रममा लडेर घटनास्थलमा नै बेहोस् हुनुभएको थियो । उपचारका लािग बिर्तामोड ल्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो ।