• २९ माघ २०८२, बिहिबार

रोचक बन्दै चुनावी माहोल

blog

भवानीदत्त भट्ट 

कञ्चनपुर, माघ २९ गते । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी माहोल निक्कै तातेको छ । यस निर्वाचन क्षेत्रमा विषेश गरेर नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबिच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । 

नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद पछिल्लो घरदैलो अभियानसँगै कार्यकर्तासँग प्रत्यक्ष भेटघाटमा व्यस्त देखिनुभएको छ । यसअघि २०७९ सालको निर्वाचनमा विजयी हुनुभएका उहाँ संसद् विगठन हुँदा पाँच वर्षे योजना पूरा गर्न नसकिएको बताउनुहुन्छ । अधुरा योजना तथा नयाँ योजना अगाडि बढाउन आफू उम्मेदवार बनेको नेता साउदको भनाइ छ । 

साउदले सडक, शिक्षा, खानेपानी, स्वास्थ्यलगायतका क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसका साथै सीमावर्ती समस्या, किसान र युवाका मुद्दा उठान गर्ने उहाँले वाचा गर्नुभयो । केही दिनमा चुनावी घोषणापत्र सार्वजनिक गर्ने उहाँले बताउनुभयो । 

एमालेबाट उम्मेदवार बन्नुभएका बचनबहादुर सिंहले आगामी निर्वाचनका लागि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै गुणस्तरीय तथा सबै नागरिकको पहुँचमा पुग्ने शिक्षा प्रणाली निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । स्वास्थ्य सेवालाई सबै नागरिकको मौलिक अधिकारको रूपमा स्थापित गर्ने, युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, विकास योजना कागजमा सीमित नभई गाउँबस्तीमा प्रत्यक्ष देखिने गरेर कार्यान्वयन गर्ने सिंहले प्रतिबद्धता जनाउनुभयो । 

उम्मेदवार सिंहले भूमिहीन, दलित, भूमिहीन सुकुमवासी, अव्यवस्थित बसोबासी, आरक्षपीडित, मुक्त हलिया कमैया तथा कमलरी समुदायलाई आफ्नो कार्यकालभित्र कानुनी रूपमा जग्गाको मालिक बनाउने दिशामा पहल गर्ने बताउनुभएको छ । 

क्षेत्र नम्बर २ बाट नेकपाका उम्मेदवार माधवप्रसाद पन्त पनि चुनावी प्रतिबद्धतासहित घरदैलो अभियानसँगै कार्यकर्ता भेटघाटमा व्यस्त हुनुहुन्छ । उहाँले यस क्षेत्रको शिक्षा, स्वास्थ्य, यातायातका क्षेत्रमा सुधारका साथै भूमिहीनको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । केही दिनमै चुनावी घोषणापत्र सार्वजनिक गर्ने उहाँले बताउनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपक बोहोरा फरक तरिकाले मतदाताको बिचमा मत माग्दै आउनुभएको छ । 

पछिल्लो समय युवा र नयाँ मतदाताको मन जित्ने प्रयास गर्दै आउनुभएका उहाँले पुराना पार्टीले गरेका अन्यायविरुद्ध र अलपत्र पारेका योजना तथा यस क्षेत्रको समग्र विकासका लागि आफू उम्मेदवार बनेको बताउनुभयो । 

यस पटक कञ्चनपुर क्षेत्र २ मा १९ जना उम्मेदवार मैदानमा छन् । २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार नरबहादुर धामी ३३ हजार २२० मतसहित विजयी हुनुभएको थियो, भने नेपाली कांग्रेसका एनपी साउदले २४ हजार ८९३ मत प्राप्त गर्नुभएको थियो । 

०७९ को निर्वाचनमा भने नेपाली कांग्रेसका नेता साउद २८ हजार एक सय मतसहित विजयी हुनुभएको थियो भने, एमालेका नेता धामीले २१ हजार ६४५ मत पाउनुभएको थियो । 

विगतका निर्वाचनमा यस क्षेत्रबाट एमाले र कांग्रेसका उम्मेदवार विजयी हुँदै आएका थिए । २०६४ को संविधान सभा सदस्यमा भने तत्कालीन नेकपा (माओवादी) ले चुनाव जितेको थियो ।