• २८ माघ २०८२, बुधबार

लमजुङमा जीप दुर्घटना : एक जनाको मृत्यु, सात जना घाइते

blog

जीप दुर्घटनाका घाइतेलाई उपचारका लागि अस्पताल लैजाँदै । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, माघ २८ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेस्थित सडकखण्डमा बुधबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

भुजुङबाट बेँसीसहरतर्फ आउँदै गरेको ग. १ ज. ५०६५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएकी क्व्होलासोथर गाउँपालिका–४, भुजुङ निवासी ७४ वर्षीया मलकुमारी गुरुङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिनुभयो ।

जीपमा सवार १० जनामध्ये अन्य सात जना घाइते भएका छन् । घाइते हुनेहरूमा क्व्होलासोथर–४ का ८० वर्षीय आइतराम गुरुङ, २२ वर्षीया एलिना गुरुङ र २७ वर्षीया स्मृति गुरुङ रहनुभएको छ ।

त्यस्तै बेँसीसहर नगरपालिका–५ की २० वर्षीया कृपा गुरुङ, वडा नं–७ की सात वर्षीया रितु गुरुङ, मर्स्याङ्दी गाउँपालिका–९ का ३१ वर्षीय आर्यन गुरुङ र मर्स्याङ्दी–२, घनपोखरा बस्ने ५० वर्षीया काली गुरुङ घाइते हुनुभएको छ । घाइतेहरूको जिल्लास्थित लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।