• २८ माघ २०८२, बुधबार

दबाबबिच इरानमा क्रान्ति दिवस

blog

दुबई, माघ २८ गते । इरानले सन् १९७९ को इस्लामिक क्रान्तिको ४७ औँ वार्षिकोत्सव बुधबार मनाएको छ, तर देश भित्री असन्तोष र बाह्य दबाबका कारण संवेदनशील अवस्थामा रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा अर्को विमानवाहक समूह पठाउने सङ्केत गर्नु भएको छ भने इरानभित्र हालै भएका विरोध प्रदर्शनमाथि गरिएको कठोर दमनको अन्तर्राष्ट्रिय आलोचना जारी छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वासिङ्टन भ्रमणको सन्दर्भमा ट्रम्पले तेहरानसँग सम्भावित नयाँ आणविक सम्झौतामा कडा सर्त राख्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । यसै क्रममा, पछिल्लो चरणको वार्तामा मध्यस्थता गरेको ओमान भ्रमणपछि एक वरिष्ठ इरानी सुरक्षा अधिकारी कतार पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।

राज्य सञ्चार माध्यमले तेहरानसहित देशभर हजारौँ समर्थक सडकमा उत्रिएको दृश्य प्रसारण गरेका छन्, जहाँ इस्लामिक गणतन्त्र र ८६ वर्षीय सर्वोच्च नेता अयातुल्ला अली खामेनीप्रति समर्थन जनाइएको छ । यद्यपि राजधानी तेहरानमा केही स्थानबाट ‘तानाशाह मूर्दावाद’ जस्ता नारासमेत सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सडक प्रदर्शनमा सहभागीले इरानी र प्यालेस्टिनी झण्डासहित खामेनी तथा इस्लामिक गणतन्त्रका संस्थापक आयातोल्लाह रुहोल्लाह खोमेनीका तस्बिर बोकेका थिए । कतिपयले ‘अमेरिका मूर्दावाद’ र ‘इजरायल मूर्दावाद’ जस्ता नारा लगाएका थिए । सुधारवादी राष्ट्रपति मसुद पेजेस्कियानले तेहरानको आजादी स्क्वायरमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । 

उहाँले यसअघि विदेशमन्त्रीलाई अमेरिकी पक्षसँग वार्ता अघि बढाउन निर्देशन दिनु भएको थियो । आठ करोड ५० लाख जनसङ्ख्या भएको इरानमा शासनप्रति बलियो समर्थन गर्ने समूह अझै सक्रिय रहेको छ, जसमा अर्धसैनिक क्रान्तिकारी गार्डका सदस्य पनि पर्छन् । हालैको दमनमा हजारौँ पक्राउ परेका र कैयौँ मारिएका विवरण सार्वजनिक भएका छन् । केही नागरिक सरकारी कर्मचारी भएकाले वा सरकारी प्रायोजनमा आयोजित कार्यक्रमको वातावरणका कारण पनि समारोहमा सहभागी हुने गरेका छन् ।

स्मरणोत्सवपछि वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी ओमानबाट कतारतर्फ प्रस्थान गर्नु भएको छ । कतारले अमेरिकी सैन्य आधार होस्ट गर्दछ, जसलाई इरानले गत जुनको १२ दिने इरान–इजरायल युद्धको क्रममा आक्रमण गरेको थियो । कतार विगतमा इरानसँग वार्तामा महत्त्वपूर्ण मध्यस्थकर्ता रहँदै आएको छ ।

रूसी सञ्चार माध्यमसँग कुरा गर्दै विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाप्रति पूर्ण विश्वास नरहेको बताउनु भएको छ । गत जुनमा वार्ताकै बिचमा आक्रमण भएको अनुभव अत्यन्तै नकारात्मक रहेको उहाँको भनाइ थियो । भविष्यमा त्यस्तो अवस्था दोहोरिन नदिन ग्यारेन्टी आवश्यक रहेको र त्यसमा धेरै हदसम्म अमेरिका जिम्मेवार हुने उहाँले उल्लेख गर्नुभयो । यद्यपि उहाँले सन् २०१५ को आणविक सम्झौताभन्दा अझ राम्रो सहमति सम्भव हुन सक्ने सङ्केत गर्नु भएको छ ।

संयुक्त राज्य अमेरिकाले युएसएस अब्राहम लिङ्कनसहितका युद्धपोत र लडाकू विमान यसअघि नै मध्यपूर्वमा तैनाथ गरिसकेको छ । ट्रम्पले आवश्यक परे दोस्रो विमानवाहक पनि पठाउन सकिने बताउनु भएको छ । कुन जहाज पठाइने हो भन्ने स्पष्ट नभए पनि युएसएस जर्ज एच. डब्ल्यु. बुश र युएसएस जेराल्ड आर. फोर्ड क्षेत्रीय गतिविधिसँग जोडिएका नामका रूपमा उल्लेख भएका छन् । रासस/एपी