अनिल पराजुली
हेटौँडा, माघ २८ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भ्रष्टाचारलाई नियन्त्रण मात्र नभई पूर्ण रूपमा उन्मूलन गर्नुपर्ने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले बुधवार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचार अन्त्यका लागि व्यवहारमै सुधार आवश्यक रहेकोमा जोड दिनुभयो ।
उहाँले शासन सञ्चालन गर्ने राजनीतिक नेतृत्व, प्रशासन चलाउने निजामती संयन्त्र र अन्य सम्बन्धित निकायले नारामा सीमित नभई व्यवहारमै भ्रष्टाचार उन्मूलनका लागि लाग्नुपर्ने बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित उजुरीको चाङ अख्तियारमा परेको उल्लेख गर्दै उहाँले उजुरी नै नआउने वातावरण निर्माण गर्नतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
जनताले तिरेको करबाट कर्मचारी र जनप्रतिनिधिले सेवा–सुविधा लिने गरेको स्मरण गराउँदै मुख्यमन्त्री बानियाँले सबैलाई पारदर्शी, जवाफदेही, जिम्मेवार र उत्तरदायी बन्न आग्रह गर्नुभयो । “नेपाली जनताप्रति निजामती संयन्त्र निष्ठावान र इमान्दार किन हुन नसक्ने ? सुरक्षा निकाय र राजनीतिक नेतृत्व इमान्दार बन्न किन नसक्ने ? यसबारे हामी सबैले सोच्नुपर्छ,” उहाँले भन्नुभयो ।
बोली र व्यवहारमा एकरूपता हुनुपर्नेमा जोड दिँदै उहाँले बाहिर एक र भित्र अर्कै हुने प्रवृत्तिको अन्त्य आवश्यक रहेको बताउनुभयो । “बोली एकातिर र व्यवहार अर्कोतिर हुँदा खरबुजाजस्तै हुन्छ, बाहिर हरियो र भित्र रातो,” उहाँले टिप्पणी गर्नुभयो ।
जनता लोकतन्त्रमा सर्वोपरि भएको उल्लेख गर्दै उहाँले जनताको पक्षमा काम गर्नु नै मूल धर्म र नैतिक दायित्व भएको बताउनुभयो । अहिलेको पुस्ताले खोजेजस्तै छिटो परिणाम देखिने गरी काम गर्न निर्देशन दिँदै उहाँले अख्तियारलाई पनि प्राप्त उजुरीहरू समयमै फछ्र्यौट गर्न सुझाव दिनुभयो ।