• २८ माघ २०८२, बुधबार

कपिलवस्तुमा १७२ थान भरुवा बन्दुक फिर्ता

blog

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको प्रशासनिक भवन । तस्बिर :नारद कोहार

नारद कोहार 

तौलिहवा (कपिलवस्तु), माघ २८ गते । कपिलवस्तुमा १७२ थान भरुवा बन्दुक फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै ती भरुवा बन्दुक सङ्कलन गरिएको हो ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयमुक्त तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाका विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सङ्कलन गरी सुरक्षित राखेको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले गत माघ ५ गते हातहतियार बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । सोही सूचनाको कार्यान्वयन गर्दै जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले इजाजतप्राप्त हातहतियार सम्बन्धित धनीहरूको घरदैलोमै पुगेर बुझिलिएको हो । सङ्कलित हतियार अहिले जिल्ला प्रहरी कार्यालयमा सुरक्षित राखिएको छ ।

प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित ढङ्गले सम्पन्न गराउन हातहतियार सङ्कलन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन अवधिभर कुनै पनि किसिमको डर, त्रास वा अवाञ्छित गतिविधि हुन नदिन इजाजतप्राप्त हातहतियार अस्थायी रूपमा प्रहरीको नियन्त्रणमा लिइएको हो । निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम सम्बन्धित धनीहरूलाई नै फिर्ता गरिने छ ।”

प्रशासनले प्रत्येक निर्वाचनका समयमा यस्तै प्रकृतिका सावधानी मूलक व्यवस्था गर्दै आएको र यसलाई नियमित सुरक्षात्मक अभ्यासका रूपमा लिइएको सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताउनुभयो ।