• २८ माघ २०८२, बुधबार

मुलुकलाई राजनीतिक निकास दिन संविधान पुन:लेखन आवश्यक : उपेन्द्र यादव

blog

पत्रकार सम्मेलनमा बोल्नुहुँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव । तस्बिर : विनय कर्ण

विनय कर्ण

कल्याणपुर (सप्तरी), माघ २८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई राजनीतिक निकास दिन संविधान संशोधन वा पुन:लेखन आवश्यक रहेको बताउनुभएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्र लाई संस्थागत नगरे सम्म देशले राजनीतिक निकास नपाउने हुँदा त्यसको लागि संविधान संशोधन वा पुन:लेखन आवश्यक रहेको बताउनुभएकाे हाे ।

राजविराजमा बुधबार प्रेस मञ्च नेपाल सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँ संविधानकै कारण देशमा मुलुकमा राजनैतिक समस्या उत्पन्न भएको भन्दै उहाँले संघीयता र समावेशितालाई बलियो बनाउँदै असमानतालाई हटाए मात्र लोकतन्त्र बलियो हुने धारणा राख्नुभयो ।

लोकतन्त्रमा निर्वाचन अपरिहार्य रहेको बताउँदै उहाँले राजनीतिक द्वन्द्वलाई हल गरेर देश निर्वाचनमा गएको भए आउने दिनमा राम्रो हुन सकिने विश्वास व्यक्त गर्नुभयो । “अहिले संविधान लिकमा छैन्, देशलाई सही बाटोमा ल्याउन संविधान पुनर्लेखन आवश्यक छ," उहाँले भन्नुभयाे ।

संविधानमा गरिएको समावेशिताको व्यवस्था पछाडी पारिएका तथा सिमान्तकृतहरुलाई उकासनका लागि रहेको भएपनि शासकवर्गले नै त्यसबाट बढी फाइदा लिई रहेको उहाँले जिकिर गर्नुभयो ।

मधेशमा ६० प्रतिशत जनसंख्या रहेको तर त्यस अनुपातमा निर्वाचन क्षेत्र नरहेको उल्लेख गर्दै यसका लागि पनि संविधान संशोसधन र पुनर्लेखन गरी निर्वाचन क्षेत्रको पुनर्संरचना गर्नु आवश्यक छ” अध्यक्ष यादवले उल्लेख गर्नुभयाे ।

सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका उहाँले जनताको घरदैलोमा जाँदा शिक्षा स्वास्थ्य र कानुनी सहायताको मामिलामा दरिद्रता देखिएको सुनाउनुभयो।

“सरकारी स्कूलमा राम्रो पढाई नहुँदा जग्गा बेचेर पढाउने बाध्यता, स्वास्थ्य सेवा सहज नभएको र स–साना कुरामा पनि मुद्दा लड्नु परेको छ,” अध्यक्ष यादवले भन्नुभयो, “शिक्षा, स्वास्थ्य र कानुनी सहायताको मामिलामा यो राजनीतिक दरिद्र हुनुपर्ने अवस्था हो ।”

यस्तै, उहाँले शिक्षा स्वास्थ्य र न्यायको सवालमा राज्यले दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।  

प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष धर्मपाल राउतको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीहरुकासँगै पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थति रहेको थियो ।