अमृतप्रसाद पौडेल
म्याग्दी, माघ २८ गते। आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै पार्टी नेतृत्व तथा अगुवा कार्यकर्तालाई प्रशिक्षण तथा निर्देशनका लागि बुधबार नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) म्याग्दी आउँदै हुनुहुन्छ।
नेकपा म्याग्दीका निर्वाचन परिचालन समितिका संयोजक तथा केन्द्रीय सदस्य रेशमबहादुर जुगजालीका अनुसार, केन्द्रीय अध्यक्ष प्रचण्ड चुनावी विशेष प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न म्याग्दी आउन लाग्नुभएको हो।
बुधबार बिहान कुश्मामा कार्यक्रम सकेर बेनी आउँदै प्रचण्ड बागलुङको गलकोट तर्फ लाग्ने कार्यक्रम रहेको जुगजालीले बताउनुभयो। आम निर्वाचन लक्षित विशेष प्रशिक्षणका लागि बेनीमा उम्मेदवार, जिल्ला समिति तथा अन्य अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ। म्याग्दीमा प्रचण्ड एकदेखि दुई घण्टासम्म उपस्थित हुनुहुने छ। कार्यक्रम बेनीस्थित नेपाल भाषा मङ्का खलको सभा हलमा तय गरिएको छ।
म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनमा नेकपाबाट अर्जुन थापा, कांग्रेसबाट कर्णबहादुर भण्डारी, एमालेबाट हरिकृष्ण श्रेष्ठ, राप्रपाबाट डम्भरबहादुर सुवेदी, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे उम्मेदवार रहनुभएको छ। त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देबेन्द्र कामी, मङ्गोल नेसनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट विनोद राना, राष्ट्रिय जनमोर्चा पार्टीबाट क्षेमबहादुर विक, नेशनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा, स्वतन्त्र उम्मेदवार महावीर पुन रहनुभएको छ।
म्याग्दीमा छ वटा स्थानीय तह रहेका छन्। यहाँ ४४,६४४ महिला, ४२,३३२ पुरुष र १ जना अन्य मतदाता रहेका छन्। कुल ८२ मतदानस्थलमा १२० मतदान केन्द्र कायम गरिएको छ।