ओखलढुङ्गा समाचारदाता
ओखलढुङ्गा, माघ २८ गते । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७, हर्कपुरमा सञ्चालनमा रहेको एक जडीबुटी प्रशोधन उद्योगलाई कानुनी प्रक्रिया पूरा नगरेको आरोपमा बन्द गरी सिल गरिएको छ । यो उद्योग अवैध रूपमा स्थापना गरिएको बताइएको छ ।
डिभिजन वन कार्यालय ओखलढुङ्गाले चाइनिज होओचेङ बायोटेक्नोलोजी प्रालि नामक कम्पनीले उद्योग सञ्चालनका लागि आवश्यक मापदण्ड तथा प्रचलित नेपाल कानुन अनुसार प्रारम्भिक वातावरणीय प्रभाव परीक्षणलगायतका प्रमाणपत्र पेस नगरेको भन्दै सोमबार उद्योग सिल गरेको जनाएको छ ।
कार्यालयका अनुसार कम्पनीलाई आवश्यक कानुनी कागजात पेस गर्न पटक पटक निर्देशन दिइएको थियो तर सो निर्देशन पालना नगरेपछि कानुन अनुसार कारबाही गर्दै उद्योग बन्द गरिएको डिभिजन वन कार्यालय ओखलढुङ्गाका प्रमुख मनाराज राईले बताउनुभयो ।
उहाँका अनुसार प्राप्त केही कागजातको अध्ययनबाट नेपाल कानुनले प्रतिबन्धित गरेका जडीबुटीसमेत प्रशोधन गर्ने उद्देश्य राखिएको देखिएकाले आवश्यक प्रक्रिया तथा मापदण्ड पूरा नभएसम्म कम्पनी सञ्चालन गर्न नदिने निर्णय गरिएको छ । उक्त कम्पनीले करिब एक वर्षअघि संरचना निर्माण गरी केही महिनादेखि जडीबुटी सङ्कलन तथा प्रशोधनसम्बन्धीको काम थालेको थियो । उद्योग दर्तासम्बन्धी प्रक्रिया केही पूरा भए पनि आवश्यक कानुनी अनुमति तथा वातावरणीय मापदण्ड नपुगेको पुष्टि भएपछि सिल गरिएको कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयले कानुन अनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र उद्योग सञ्चालनका विषयमा पुनः निर्णय हुने जनाएको छ ।