गोरखापत्र समाचारदाता
काठमाडौँ माघ २८ गते । किसान सूचीकरण कार्यक्रम अन्तर्गत हाल झन्डै २४ लाख किसान सूचीकृत भएका छन् । उक्त कार्यक्रम अन्तर्गत देशभर २३ लाख ८३ हजार १३ किसान सूचीकृत भएको कृषि सूचना केन्द्रले जनाएको छ ।
हालसम्म सबैभन्दा धेरै कोशी प्रदेशमा चार लाख ६४ हजार ६७७ जना किसान सूचीकृत भएका छन् । त्यस्तै मधेश प्रदेशमा चार लाख १२ हजार २४४, बागमती प्रदेशमा तीन लाख ९१ हजार ५९९ जना किसान सूचीकृत भएका छन् । यस्तै गण्डकी प्रदेशमा दुई लाख ४१ हजार १०४ र लुम्बिनी प्रदेशमा चार लाख २४ हजार १६ जना किसान सूचीकृत कृषि सूचना केन्द्रले जनाएको छ । कर्णाली प्रदेशमा एक लाख ९५ हजार ७१६ र सुदूरपश्चिम प्रदेशमा दुई लाख ५३ हजार ६५७ जना किसान सूचीकृत भएको केन्द्रको तथ्याङ्क छ ।
केन्द्रका सूचना अधिकारी सञ्जीव पण्डितले किसान सूचीकृत गरिसकेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमति लिएर स्थानीय तहबाट किसान परिचयपत्र वितरण गरिने जानकारी दिनुभयो ।
२०७७ साल फागुनमा किसान सूचीकरण कार्यक्रम सुरु भएको थियो । किसानको वर्गीकरण गरी अनुदानसहित सेवासुविधा उपलब्ध गराउन सो कार्यक्रम अगाडि बढाइएको थियो । किसान सूचीकृत भए पनि किसान परिचयपत्र भने अझै वितरण हुन नसकेको मन्त्रालयले जनाएको छ ।
कार्यक्रम अनुसार किसानलाई सूचीकृत गरी उनीहरूको आम्दानीको अवस्था हेरेर चार प्रकारमा वर्गीकरण गरिने छ । मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले सूचीकृत किसानलाई ऋण, कृषि औजारमा सहुलियत, बिउ, बिरुवामा छुट तथा पूर्वाधार निर्माणमा समेत सहयोग गर्ने जानकारी दिनुभयो । कृषि पेसामा किसानलाई टिकाइराख्नका लागि किसान परिचयपत्र वितरण गरी सुविधा उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।
निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठुला किसान पहिचान गरी परिचयपत्र वितरण गरिने उहाँले जानकारी दिनुभयो । कृषि गणना–२०७८ अनुसार नेपालमा करिब ४१ लाख घरपरिवार कृषि कार्य (खेतीपाती) मा आबद्ध छन् । त्यसै गरी ३९ लाख ९९ हजार परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषि कार्य भइरहेको छ भने एक लाख ३२ हजारले पशुपन्छी पाल्ने गरेका छन् ।
कृषि व्यवसायमा संलग्न किसानले नेपाल सरकारबाट उपलब्ध हुने अनुदान र सहायता प्राप्त गर्न किसान सूचीकरणमा सूचीकृत हुनुपर्ने हुन्छ । सूचीकरणमा आबद्ध हुन नेपालमै बसेर कृषि व्यवसाय (खेतीपाती, पशुपालन) गरेको १८ वर्षमाथिको कृषक हुनु पर्छ ।
किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ ले नेपालभित्र जुनसुकै स्थानमा बसोबास गर्ने कृषि पेसामा आबद्ध व्यक्ति सूचीकरण कार्यक्रममा सहभागी हुन र आबद्ध हुन चाहने कृषकले स्वयम् वा कृषिसँग सम्बन्धित सङ्घ, प्रदेश वा स्थानीय तहका सम्बन्धित निकायको सहयोगमा प्रणालीको वेबसाइट वा मोबाइल एप्लिकेसनमार्फत आधारभूत विवरण प्रविष्टि गर्न सक्ने व्यवस्था गरेको छ ।