• २७ माघ २०८२, मङ्गलबार

आर्या फार्माको ‘सुप्रोमोक्स सिभी बिड’ नामक औषधी बजारबाट फिर्ता लैजान विभागको निर्देशन

blog

काठमाडौँ, माघ २७ गते ।औषधी व्यवस्था विभागले आर्या फार्माल्याब प्रालि उत्पादन गरेको ‘सुप्रोमोक्स सिभी बिड’ नामक औषधी बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको छ ।

 विभागले सूचना जारी गर्दै आर्या फार्माल्याबको ‘सुप्रोमोक्स सिभी बिड’ नाम औषधीको ब्याज नम्बर ‘एफएसबिडी १२०१६’  न्यून गुणस्तरको भएको भन्दै बजारबाट फिर्ता लैजान निर्देशन दिएको हो ।

 विभागका अनुसार बजार अनुगमनको क्रममा सङ्कलन गरिएको औषधीको नमुना राष्ट्रिय औषधी प्रयोगशालाबाट परीक्षण गर्दा उक्त ब्याचको औषधी न्यून गुणस्तरको पाइएको हो । 

“आर्या फार्माल्याबको ‘सुप्रोमोक्स सिभी बिड’ नाम औषधीको ब्याज नम्बर ‘एफएसबिडी १२०१६’ न्यून गुणस्तरको पाइएकोले उक्त औषधी, औषधी ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न सोको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिलाई जानकारी गराइन्छ,” विभागको सूचनामा उल्लेख छ ।

उक्त ब्याज नं. उल्लेख भएका औषधीको सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउन सम्बन्धित सबैलाई विभागले अनुरोध गरेको छ ।