• २६ पुस २०८१, शुक्रबार

राजनीतिमा बढ्दै लैङ्गिक हिंसा

blog

काठमाडौँ,साउन १ गते । नेपाली राजनीतिमा लैङ्गिक हिंसा व्याप्त रहेको तथ्याङ्क उजागर भएको छ । विभिन्न राजनीतिक दलमा आबद्ध भएर महत्त्वपूूर्ण जिम्मेवारीसहित कार्यरत ४९२ जना महिलामा गरिएको अध्ययन-सर्वेक्षणमा महिला हिंसाको डरलाग्दो स्थिति देखाइएको छ । 

अध्ययनमा ७२ जना महिला नेत्रीसँग गहन अन्तर्वार्ता, २१ जना पुरुष, २१ जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकसहित ४८ जना जानकारसँग गरिएको छलफल तथा सातवटा गम्भीर प्रकृतिका घटनाक्रम समेटिएका छन् । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड), नेसनल डेमोक्र्याटिक इन्स्टिच्युटको सहयोगमा पर्पल नामक संस्थाले अध्ययन गरेको हो । सात प्रदेशका १४ जिल्लामा गरिएको अध्ययनमा ९१ प्रतिशत उत्तरदाताले राजनीतिमा लैङ्गिक हिंसा डरलाग्दो अवस्थामा रहेको जवाफ दिएका छन् । 

६६ प्रतिशत महिला राजनीतिकर्मीले आफ्नो राजनीतिक जीवनमा एक वा सोभन्दा बढी पटक हिंसा सामना गर्नुपरेको बताएका छन् । महिला राजनीतिकर्मीले अनलाइन वा अफलाइन दुवै माध्यमबाट हिंसा हुने गरेको जवाफ दिएका छन् । महिला राजनीतिकर्मीले निर्वाचनको समयमा आफ्नै पार्टीका नेता, सहकर्मी, विपक्षी पार्टीका नेता, विरोधी कार्यकर्ताबाट होच्याउने, गालीगलौज गर्ने, क्षमतामाथि प्रश्न गर्ने, अपमान गर्नेखालका व्यवहारको सामना गर्नुपरेको बताएका छन् ।

त्यसैगरी अध्ययनमा समेटिएका महिला नेत्रीहरूले पुरुषबाट शारीरिक आक्रमण, कुटपिट र चरित्र हत्या गर्ने, घृणा र द्वेष फैलाउनेसम्मका हिंसा सहनुपरेको बताएका छन् । महिला राजनीतिकर्मीमाथि हुने गरेको यस प्रकारको हिंसाले महिलालाई आत्महत्या गर्ने अवस्थामा समेत पु-याएको  अध्ययनको क्रममा पाइएको छ । अध्ययनमा सहभागी धेरै महिला नेत्रीले राजनीतिमा लागेर पछु्ताउनुबाहेक अरू केही प्राप्त नभएको धारणा सार्वजनिक गरेका छन् । 

अध्ययनमा सहभागीमध्ये एक महिला नेत्रीले अन्तर्वार्ताको क्रममा आफूलाई साहसी र बलियो महिला ठाने पनि राजनीतिमा लाग्दै गर्दा गलत साबित भएको बताउनुभएको छ । उहाँले नगरपालिकाको उपप्रमुख निर्वाचित भइसकेपछि  आफ्नो राजनीतिक समकक्षीबाट हरेक पाइला÷पाइलामा हिंसा खेप्नु परेको गुनासो पोख्नुभएको छ । प्रत्यक्ष अन्तर्वार्तामा उहाँले कार्यालयको पङ्खामा झुण्डिएर मर्नसमेत खोजेको पीडा पोख्दै अब राजनीतिमा नलाग्ने घोषणासाथ बाँचेर घरपरिवार हेर्ने साहस बटुलेको बताउनुभएको छ । 

सामाजिक सञ्जालको प्रयोगबाट समेत आफूहरू पीडित हुने गरेको कुरा सार्वजनिक भएको छ । मधेश प्रदेशका धेरैजसो राजनीतिकर्मीका सामाजिक सञ्जाल भने पति वा छोरा वा दाजुभाइले चलाइदिने हुनाले सामाजिक सञ्जालमा हिंसा कम हुने गरेको बताएका छन् । 

कम उमेरका महिला राजनीतिकर्मीलाई त पार्टीका बैठकमा भाग लिइरहँदासमेत हिंसा हुने गरेको अध्ययनमा सहभागीले बताएका छन् । एक राजनीतिकर्मीले आफ्नो अनुभवमा पार्टीको बैठकमा बसिरहँदा मोबाइलमा पुरुष राजनीतिकर्मीले म्यासेज गरेको र सो म्यासेजमा ‘आज त तिम्रा ओठ निकै राम्रा देखिन्छन् । कपाल अलि मिलेको छैन नि’ भनेर  लेखेर पठाएको सुनाउनुभएको छ । 

विद्युतीय माध्यमबाट हुने हिंसाविरुद्धको उजुरी लिएर प्रहरीमा जाँदा त्यहाँबाट सकारात्मक सहयोग नपाएको र साइबर ब्यूरोबाट समेत सहयोग नपाएकोले त्यहाँ जान छोडेको जवाफ पनि दिएका छन् । अध्ययनमा सहभागीले राजनीतिक दलमा यस्ता विषय सम्बोधन गर्ने वा सुनुवाइ गर्ने छुट्टै संन्यत्रको खाँचो औँल्याएका छन् ।