• २७ माघ २०८२, मङ्गलबार

गदालले हासिल गरे विद्यावारिधि

blog

काठमाडौँ, माघ २७ गते । नेपाली सुगम संगीत र साहित्यका स्थापित व्यक्तित्व, वरिष्ठ गीतकार तथा कवि ज्ञानेन्द्र गदालले फ्रान्सबाट विद्यावारिधि (PhD) को उपाधि हासिल गर्नुभएको छ । फ्रान्सको पेरिसस्थित प्रतिष्ठित ESGCI, School of Management बाट उहाँले 'नेपाली देशभक्ति गीत'को विविध पक्षमा गरिएको शोधका लागि डाक्टर अफ फिलोसोफी (PhD) प्रदान गरिएको हो।

डा. गदालले "नेपालमा देशभक्ति गीतहरूको आर्थिक तथा सांस्कृतिक प्रभाव: राष्ट्र निर्माण र संगीत उद्योगमा तिनको भूमिकाको अध्ययन" शीर्षकमा आफ्नो शोधपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले नेपाली संगीत इतिहासमा देशभक्तिपूर्ण गीतले राष्ट्रिय एकता निर्माण, सांस्कृतिक पहिचानको संरक्षण र संगीत उद्योगको आर्थिक पाटोमा पुर्‍याएको योगदानबारे गहिरो प्राज्ञिक विश्लेषण गर्नुभएको छ। सन् २०२४ को जनवरीबाट औपचारिक रूपमा अनुसन्धान सुरु गर्नुभएका गदालले करिब दुई वर्षको अवधि, अर्थात् २१ जनवरी २०२६ मा आफ्नो अध्ययन सफलतापूर्वक सम्पन्न गर्नुभएको हो ।

लामो समयदेखि नेपाली गीत-संगीत र कविताको क्षेत्रमा सक्रिय डा. गदालका दर्जनौँ कालजयी गीतहरू चर्चित छन्। सिर्जनात्मक क्षेत्रसँगै प्राज्ञिक क्षेत्रमा उहाँले प्राप्त गर्नुभएको यो सफलताले नेपाली संगीतको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको विज्ञहरूको भनाइ छ। विशेषगरी विदेशमा रहेर पनि नेपाली भाषा, कला र राष्ट्रियतालाई नै आफ्नो अनुसन्धानको मूल विषय बनाउनुले उहाँको स्वदेशप्रतिको अगाध प्रेम झल्काउँछ।

उहाँको यस सफलताले विश्वभर छरिएर रहेका नेपाली विद्यार्थी र कलाकर्मीहरूमा थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ। गीतकार गदालको यो उपलब्धि नेपाली संगीत र संस्कृतिको प्राज्ञिक दस्तावेजीकरणका लागि एउटा महत्त्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ।