• २७ माघ २०८२, मङ्गलबार

दार्चुलामा बहालवाला प्रहरी हवलदार मृत फेला

blog

कृष्णबहादुर धामी
खलङ्गा (दार्चुला), माघ २७ गते ।
दार्चुलामा नेपाल प्रहरीका बहालवाला प्रहरी हवलदार मृत फेला परेका छन् । यहाँको जिल्ला प्रहरी कार्यालय अन्तर्गत महाकाली नगरपालिका–४, बाङ्गाबगडमा सामुदायिक प्रहरीमा कार्यरत अन्दाजी ३८/४० वर्षीय प्रहरी हवलदार योगेन्द्रसिंह घर्ती मृत फेला परेको महाकाली नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जगतबहादुर चुनाराले जानकारी दिनुभयो ।

प्रहरी हवलदार घर्ती बाङ्गाबगड तल्लो बजारको पछाडि पट्टी मृत फेला परेको उहाँले बताउनुभयो । घटना सोमबार राति भएको हुन सक्ने र प्रहरी हवलदार घर्तीको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।

मृतक हवलदार घर्तीको टाउकोमा ४/५ वटा ठुलो घाउहरू रहेको प्रत्यक्षदर्शी एवम् वडाध्यक्ष चुनाराले जानकारी दिनुभयो । घर्तीको चक्कु प्रहारबाट मृत्यु भएको हुन सक्ने उहाँले अनुमान गर्नुभयो । “मृतक प्रहरी हवलदार हाम्रै नजिकको भाइ हो, घटना शङ्कास्पद जस्तो देखिन्छ,’’ उहाँले भन्नुभयो । मृतक प्रहरी हवलदार दार्चुलाको महाकाली नगरपालिका–४, बिचबजारका स्थानीय भएको उहाँले बताउनुभयो । अहिले प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला पठाइएको बताइएको छ । यता घटनाबारे थप जानकारी लिन दार्चुलाका प्रहरी नायब उपरीक्षक गौरब महतलाई फोन सम्पर्क गर्दा उहाँको फोन रिसिभ हुन सकेको छैन ।