• २७ माघ २०८२, मङ्गलबार

कांग्रेस सभापति थापा आज बर्दिवास आउनुहुँदै

blog

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा

अजय शाह
गौशाला (महोत्तरी), माघ २७ गते ।
महोत्तरी–१ निर्वाचन क्षेत्रको चुनाव प्रचारको क्रममा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा मङ्गलबार बर्दिवास आउँदै हुनुहुन्छ ।

सभापति थापा महोत्तरी क्षेत्र नं १ को स्थानीय प्रचार प्रसार कार्यालय बर्दिवासमा आयोजित कार्यक्रममा उपस्थित भएर मतदातासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा औरही नगरपालिकाका पूर्व नगर प्रमुख तथा सुनिलकुमार यादवले जानकारी दिनुभयो । उहाँले सभापति थापाले प्रदेश र केन्द्रका विकास योजना, पार्टीका नीतिहरू र आगामी निर्वाचनको महत्त्वबारे मतदातालाई अवगत गराउने बताउनुभयो ।

अध्यक्ष थापाको बर्दिवास आगमनसँगै स्थानीय कांग्रेसका युवा र महिला कार्यकर्ता उत्साहित देखिएका छन् । उनीहरूले मतदातामा पार्टीको सन्देश पुर्‍याउने र क्षेत्रीय विकासका योजना समेटेर चुनावी रणनीति प्रस्तुत गर्ने योजना बनाएका छन् । विगतमा विभिन्न विकास र सामाजिक कार्यमा सक्रिय रहेको नेपाली कांग्रेसले यस पटकको निर्वाचनमा पनि क्षेत्रीय जनसमर्थन जुटाउन अध्यक्ष थापाको सम्बोधन निर्णायक हुने विश्वास लिएको छ ।

स्थानीय जनप्रतिनिधि र पार्टी कार्यकर्ताले सभापति थापाको उपस्थितिलाई क्षेत्रीय विकास र राजनीतिक सक्रियताको अवसरका रूपमा लिएका छन् । निर्वाचन नजिकिँदै गएसँगै बर्दिवासमा राजनीतिक माहोल तातेको छ ।

कांग्रेस बर्दिवास नगर समितिका सचिव विनोद ढुङ्गेलको अनुसार आजै साँझ ५ बजे प्रचार प्रसार कार्यालय बर्दिवास पुगेर सभापति थापाले सम्बोधन कार्यक्रम रहेको छ ।

महोत्तरी क्षेत्र नं १ बाट कांग्रेसबाट नेपालको ऊर्जा, प्राविधिक शिक्षा र पूर्वाधार विकासका विभिन्न निर्णायक चरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका डा. मुकेशराज काफ्ले प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा निर्वाचन मैदानमा हुनुहुन्छ ।