• २४ माघ २०८२, शनिबार

वन्यजन्तुपीडित न्याय माग्दै प्रशासनमा

blog

न्याय माग्न जिल्ला प्रशासन पुगेका वन्यजन्तुपीडित परिवार ।

बबई समाचारदाता

बबई (बर्दिया), माघ २४ गते । बर्दिया जिल्लामा केही समययतादेखि चितुवाको आक्रमण बढ्दै जाँदा त्रसित बनेका स्थानीय बासिन्दा न्याय माग्दै जिल्ला प्रशासन कार्यालय बर्दिया पुगेका छन् । बिहीबार एकै दिन गुलरिया नगरपालिका–४, तुस्लिपुरका ३६ वर्षीय नन्दु रोकाय र मधुवन नगरपालिका–९ बस्ने मैसरा डाँगीको चितुवाको आक्रमणबाट मृत्यु भएपछि न्याय माग्दै स्थानीय परिवार जिल्ला प्रशासन कार्यालय बर्दिया पुगेका हुन् ।

बर्दियामा विगतका वर्षमा भन्दा यस वर्ष चितुवाको आक्रमण बढ्दै जाँदा स्थानीयवासी त्रसित बनेका छन् । सदरमुकाम गुलरिया नगरपालिका क्षेत्रभित्र नै चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम नरोकिएपछि शुक्रबार स्थानीयवासी जीवन रक्षाको माग गर्दै न्याय माग्न जिल्ला प्रशासन कार्यालय बर्दिया पुगेका हुन् । जिल्लाको बारबर्दिया नगरपालिका, गुलरिया नगरपालिका र मधुवन नगरपालिकाका गाउँबस्तीमा केही वर्षयतादेखि मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएको पाइन्छ ।  मध्यवर्ती सामुदायिक वनक्षेत्र र तिनका आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परी व्यक्तिको मृत्यु हुन थालेपछि स्थानीय आक्रोशित हुन थालेका छन् । गुलरिया नगरपालिका–४ का स्थानीय अक्कलबहादुर खत्रीले घरआँगनमा आएर चितुवा आक्रमण बढ्दै जाँदा घरभित्रै पनि वन्यजन्तुबाट असुरक्षित महसुस गरिएको बताउनुभयो । 

त्यसै गरी गुलरिया नगरपालिका–४, तुलसीपुर गाउँका सुशीला गिरीले वन्यजन्तुको आक्रमण बढ्दै जाँदा त्यस्ता हिंस्रक वन्यजन्तुलाई नियन्त्रणको प्रयास नगरिएकोप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो, “समस्याग्रस्त वन्यजन्तु नियन्त्रण गर्न सम्बन्धित निकायले ध्यान किन दिन सकेको छैन । मानिसको जिउज्यानमाथि यसरी खेलबाड गर्न मिल्दैन ।” बर्दिया जिल्लास्थित डिभिजन वन कार्यालय बर्दियाको तथ्याङ्क हेर्ने हो भने विगतका वर्षमा भन्दा पछिल्ला वर्ष वन्यजन्तुको आक्रमण बढ्दै गएको छ । 

आर्थिक वर्ष २०८०/८१ मा वन्यजन्तुको आक्रमणबाट बर्दियामा चार जनाले ज्यान गुमाएका थिए भने आव २०८१/८२ मा छ जनाले ज्यान गुमाएका छन् । चालु आवको सात महिनामा नौ जनाले ज्यान गुमाइसकेका छन् । 

बर्दियामा पछिल्लो समय सबैभन्दा बढी चितुवाको आक्रमण बढ्दो मात्रामा देखिएको छ । गुलरिया नगरपालिका–४ का वडाध्यक्ष सुरेश गौतमले बिहीबारको घटनाले बर्दिया असुरक्षित बन्दै गएको हो कि भन्ने आभास भएको बताउनुभयो । न्याय खोज्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका स्थानीयले पीडित परिवारलाई सरकारको क्षतिपूर्ति, परिवारको पालनपोषण र हिंस्रक वन्यजन्तु नियन्त्रणमा लिन सरकारसँग माग गरेका छन् ।