• २४ माघ २०८२, शनिबार

कर्णालीको निर्वाचनमा आमचासो

blog

रजनी योगी

सुर्खेत, माघ २४ गते ।  कर्णाली प्रदेशमा १० जिल्ला र १२ निर्वाचन क्षेत्र छन् । यस पटकको निर्वाचनको नतिजालाई लिएर आमचासो देखिएको छ । १२ सिटमा १३१ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

विगतका चुनावी नतिजालाई हेर्ने हो भने नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) कर्णालीका तीन प्रमुख राजनीतिक शक्ति हुन् । त्यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतका दल पनि चुनावी प्रतिस्पर्धामा छन् । पछिल्लो पटक २०७९ सालमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमा कांग्रेस र तत्कालीन माओवादीले समान चार/चार सिटमा जित हात पार्दा तत्कालीन नेकपा (एकीकृत समाजवादी) ले तीन सिट जितेको थियो । त्यतिबेला यी तीन दलले गठबन्धन गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सिट जितेको थियो । एमाले भने नतिजा शून्य हुन पुगेको थियो ।

आगामी निर्वाचनका लागि यस पटक ठुला दलबिच गठबन्धन छैन । त्यसैले पनि यस पटक कर्णालीमा सक्रिय राजनीतिक दलको शक्ति परीक्षण हुने आकलन गरिएको छ । नयाँ राजनीतिक दल उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीलगायतले पनि कर्णालीमा उम्मेदवारी दिएका छन् । यसले कर्णाली प्रदेशको चुनावी माहोल थप रोचक बनेको छ । सल्यान जिल्लामा १४ जनाको उम्मेदवारी परेको छ । अघिल्लो पटकको चुनावमा तत्कालीन नेकपा एसका प्रकाश ज्वाला ३५ हजार ७०७ मतका साथ विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७९२ मत पाउनुभयो । रुकुमपश्चिममा तत्कालीन माओवादीका जनार्दन शर्मा प्रभाकरले ३९ हजार ५४९ मत पाएर निर्वाचित हुनुभएको थियो । एमालेमा नन्दराम देवकोटाले १२ हजार ९६२ मत पाउनुभएको थियो । यस पटक पनि शर्मासहित १२ जनाको उम्मेदवारी परेको छ । दैलेखमा दुई वटा निर्वाचन क्षेत्र छन् । क्षेत्र नं. १ मा १० जनाको उम्मेदवारी पर्दा क्षेत्र नं. २ मा ११ जनाको उम्मेदवारी परेको छ । अघिल्लो पटकको चुनावमा दैलेख–१ बाट तत्कालीन नेकपा एसका अम्मरबहादुर थापा १८ हजार २९७ मतका साथ विजयी हुँदा एमालेका रवीन्द्रराज शर्माले १७ हजार ४४५ मत पाउनुभएको थियो । क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका दिक्पाल शाही २० हजार १८३ मतका साथ विजयी हुनुभयो भने एमालेका लक्ष्मीप्रसाद पोखरेलले २० हजार १६ मत पाउनुभयो ।

सुर्खेतमा पनि दुई वटा निर्वाचन क्षेत्र छन् । सुर्खेत–१ बाट १३ जनाको उम्मेदवारी परेको छ भने क्षेत्र नं. २ बाट १७ जनाको उम्मेदवारी परेको छ । २०७९ को चुनावमा सुर्खेत–१ बाट नेपाली कांग्रेसका पूर्णबहादुर खड्काले ४२ हजार ६०७ मतका साथ बाजी मार्दा निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत पाउनुभएको थियो । सुर्खेत–२ मा कांग्रेसकै हृदयराम थानीले ३४ हजार ६२५ मतका साथ जित हात पार्नुभएको थियो । एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत पाउनुभयो । हुम्लामा अघिल्लो पटक माओवादी केन्द्रका छिरिङ डम्डुल लामा विजयी हुनुभएको थियो । उहाँले १४ हजार ३७१ मतका साथ बाजी मार्नुभएको हो । एमालेका दल रावलले नौ हजार ५१६ मत पाउनुभएको थियो । फागुन २१ को चुनावका लागि सात जनाको उम्मेदवारी परेको छ । एउटा निर्वाचन क्षेत्र रहेको डोल्पामा नौ जनाको उम्मेदवारी परेको छ । गत चुनावमा तत्कालीन नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढाले ११ हजार २९२ मत प्राप्त गर्दै बाजी मार्दा एमालेका गणेशबहादुर शाहीले पाँच हजार ५०५ मत पाउनुभएको थियो । २०७९ को चुनावमा मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाहीले १४ हजार ७०६ मत पाएर निर्वाचित हुनुभयो । एमालेका राजबहादुर कार्कीले १० हजार ७१० मत प्राप्त गर्नुभएको थियो । यस पटक सात जनाको उम्मेदवारी परेको छ । 

जुम्लामा १० जना उम्मेदवारबिच चुनावी प्रतिस्पर्धा हुँदै छ । अघिल्लो चुनावमा राप्रपाका ज्ञानबहादुर शाहीले बाजी मार्नुभएको थियो । शाहीले २२ हजार ८१९ मतका साथ जित हासिल गर्दा तत्कालीन माओवादीका गोमा गौतम कुँवरले ११ हजार ९५९ मत पाउनुभएको थियो । कालीकोटबाट कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही चुनाव लड्दै हुनुहुन्छ  । २०७९ मा पनि शाहीले २३ हजार ७२७ मत पाएर निर्वाचित हुनुभएको थियो । एमालेमा नगिन्द्र शाहीले १६ हजार ७१८ मत पाउनुभयो । गत चुनावमा जाजरकोटबाट पनि माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत निर्वाचित हुनुभएको थियो । बस्नेतले ३२ हजार १५१ मतका साथ बाजी मार्दा प्रतिद्वन्द्वी एमालेका नीरजप्रसाद आचार्यले २५ हजार १२० मत पाउनुभएको थियो ।