• १३ साउन २०८१, आइतबार

बजारमा हरियो चुराको व्यापार बढ्यो

blog

लालबन्दीको चुरा पसलमा देखिएको भीडभाड । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असार ३२ गते । साउनभरि नारीले हरियो, पहेलो, रातो रङ्गका पहिरन, चुरापोते, मेहन्दी लगाउने चलनले यतिबेला सर्लाहीमा शृङ्गारका सामानको व्यापार बढेको छ । साउनका लागि भनेर त्यस्ता सामान किन्नेको बजारमा भीड लागेको छ । 

जिल्लाको लालबन्दी, नवलपुर, हरिवन, बागमती, हरिपुर, बयलवास, बरहथवा, मलङ्गवाजस्ता मुख्य बजारसहित ग्रामीण भेगका बजारमा पनि साउनमा लगाइने विभिन्न रङ्गीचङ्गी चुरा र पहिरनको व्यापार बढेको हो । 

लालबन्दी नगरपालिका –११, हीरापुरकी सानिमाया लामाले साउन महिनामा राता र हरिया चुरा, मेहन्दीसहित नयाँ वस्त्रमा व्रत बस्ने भएकाले ती सामान किन्न बजार आएको बताउनुभयो । उहाँका अनुसार विवाहित वा अविवाहित सबै हरियो रङ्गका पहिरन तथा चुरापोतेमा सजिन्छन् । 

विशेषगरी साउने सोमबार ब्रत बस्ने दिन भएकाले यिनै वस्त्रमा नारीहरु सजिने गरेका छन् । साउनमा दशैँ, तीहार, तीजमाजस्तै राम्रो व्यापार हुनेगरेको लालबन्दी बजारका चुरा पसले जीवछ लहेरीले बताउनुभयो । 

पसले लहेरीका अनुसार एक हप्ताअघिबाटै चुराको व्यापार राम्रो छ । यो समयमा हरियो, पहेँलो, रातो, रानी तथा सुन्तला रङ्गको चुराहरु धेरै बिक्री हुनेगरेको छ । केही वर्षअघि पोतेमा तिलहरी मात्रै राखेर लगाउने चलन थियो भने अहिले पोतेका डिजाइन र माला बनाइ लगाउने चलन चलेको छ ।