• १३ साउन २०८१, आइतबार

सर्भर डाउन हुँदा ६५ करोड रुपियाँ भुक्तानी रोकियो

blog

प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालय । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार ३२ गते । सुदूरश्चिम प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको सिस्टम एक दिन बन्द हुँदा ६५ करोड रुपियाँ भुक्तानी रोकिएको छ । असार २४ गते ‘सीएस सिस्टम’ बन्द भएपछि सुदूरपश्चिम प्रदेशका विकासे मन्त्रालयको भुक्तानी रोकिएको हो ।

नेपाल सरकारको आर्थिक नियमावलीअनुसार आर्थिक वर्ष २०७८–७९ को भुक्तानी असार २५ गतेसम्म गर्ने व्यवस्था थियो । तर असार २४ गते सिस्टम बन्द भएपछि भुक्तानी गर्न नसकिएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख वासुदेव जोशीले जानकारी दिनुभयो । 

उहाँका अनुसार २४ गते बन्द भएको सीएस सिस्टम असार २५ गते भने ‘स्लो’ भएको थियो । सिस्टममा आएको समस्याका कारण ६५ करोड रुपियाँभन्दा बढी भुक्तानी हुन नसकेको प्रमुख जोशीले बताउनुभयो । 

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका भुक्तानी हुन नसकेको जनाइएको छ । भुक्तानी हुन नसकेको सबैभन्दा बढी रकम भौतिक पूर्वाधार विकास मन्त्रालयको रहेको प्रमुख जोशीले बताउनुभयो ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको ‘सर्भर डाउन’ का कारण निर्माण सम्पन्न भइसकेका कतिपय योजनाको भुक्तानी पनि रोकिएको जनाइएको छ । प्राविधिक समस्याका कारण चालू आर्थिक वर्षमा भुक्तानी हुन रोकिएको रकम भुक्तानीका लागि अर्को नियम पनि रहेको प्रदेश कोलेनिकाले जानकारी दिएको छ । 

रोकिएको रकम भुक्तानी अब अर्को आर्थिक वर्षमा हुने जोशीले बताउनुभयो । ‘अर्को आर्थिक वर्षमा बजेटको व्यवस्था भएपछि प्रमाण हेरेर प्रमाणको आधारमा भुक्तानी गर्न सकिन्छ’, उहाँले भन्नुभयो ।