काठमाडौँ, माघ २० गते । आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपालले यूएईमाथि सात विकेटको जित निकालेको छ ।
नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले उत्कृष्ट साझेदारी गर्नुभयो । दुवै ब्याट्सम्यानले नटआउट अर्धशतक बनाउनुभएको हो । दीपेन्द्रले ३१ बलमा ५० रन बनाउनुभयो भने आरिफले ३७ बलमा ६१ रन बनाउनुभयो ।
१४६ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा १४८ रन बनाएको हो ।
भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४५ रन बनाएको थियो ।
युएईका लागि सोएब खानले ३८ रन बनाउनुभयो । यस्तै हर्सिद कौशिकले ३५, आर्सन शर्मा २५, मोहमद जोएब १९ र अलिशान सरफुले १२ रन बनाउनुभयो ।
बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेले दुई दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो । नेपालले आफ्नो दोस्रो तथा अन्तिम अभ्यास खेल बिहिबार क्यानाडासँग खेल्नेछ।