• २० माघ २०८२, मङ्गलबार

दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

blog

प्राकृतिक बासस्थानमा गोही छोडिँदै । तस्बिरः यज्ञप्रसाद सापकोटा

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), माघ २० गते । बर्दिया राष्ट्रिय निकुञ्जले सिमसार दिवसको अवसरमा १० वटा घडियाल गोही प्राकृतिक बासस्थानमा छाडेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्किएका घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएका हुन् । 

४ वर्ष पुगिसकेका ५ वटा घडियाल गोही बर्दिया राष्ट्रिय निकुञ्जको खौराहा खोलामा र ५ वटा बाँके राष्ट्रिय निकुञ्जमा पठाइएका छन् । बाँके राष्ट्रिय निकुञ्जले प्राकृतिक बासस्थानमा छाडेको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत सरोजमणि पौडेलले बताउनुभयो । 

निकुञ्जले गत पुस र असोज महिनामा १०–१० वटा घडियाल गोही प्राकृतिक बासस्थानमा छाडेको थियो । सूचना अधिकारी पौडेलले अझै पनि करिब दुई सय गोहीका बच्चा प्रजनन केन्द्रमा हुर्किरहेको बताउनुभयो । २०३९ सालमा स्थापना गरिएको प्रजनन केन्द्रमा २०७२ सालदेखि प्रजनन प्रक्रियाको सुरुवात भएको थियो । 

२०७४ सालमा गोहीलाई पहिलो पटक प्राकृतिक बासस्थानमा छाडिएको थियो । यस अघिको वर्षमा पनि ३३ वटा बच्चालाई प्राकृतिक बासस्थानमा छोडिएको थियो ।  प्रजनन केन्द्रमा हाल २ भाले र ४ पोथी गरी ६ वटा प्रजननयोग्य घडियाल गोही रहेका छन् । 

हुर्किएका बच्चाले प्राकृतिक बासस्थानमा सहजै सिकार गरेर खान सक्ने भएपछि छोड्ने गरिन्छ । सामान्यतया तीन वर्षभन्दा माथिका बच्चालाई प्राकृतिक बासस्थानमा छोडिँदै आएको छ । घडियाल गोही स्वच्छ पानी र ताजा माछा खाने संरक्षित सूचीमा रहेको जीव हो । 

गोहीको बासस्थान व्यवस्थापन गर्ने, चोरी सिकार नियन्त्रण गर्ने खालका कामहरू भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । बर्दियाको कर्णाली र बबई नदीमा घडियाल गोही पाइन्छ । सरकारले वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार घस्रने जन्तु घडियाल गोहीलाई संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरेको छ ।