बबई समाचारदाता
बबई (बर्दिया), माघ १६ गते । नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत ८३ किलोमिटर खुला सीमाक्षेत्र भएको बर्दिया जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बर्दियाका ३९ मतदान स्थल संवेदनशील सूचीमा राखिएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको बर्दियामा क्षेत्र नम्बर १ मा २४ र क्षेत्र नम्बर २ मा १५ वटा मतदान स्थल संवेनशील सूचीमा राखिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
भारतसँग सीमा जोडिएका गुलरिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका र बढैयाताल गाउँपालिकामा पर्ने क्षेत्रलाई संवेदनशील मानिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले विगतका निर्वाचन र अहिले सुरक्षा अवस्था हेरेर सुरक्षा रणनीति तयार गरिएको बताउनुभयो । बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जिल्लामा शान्तिसुरक्षाको अन्य कुनै जोखिम नभएकाले अति संवेदनशील मतदान केन्द्र नरहेको बताउनुभयो ।
निर्वाचनका समयमा सीमा सुरक्षामा रहेको सशस्त्र सीमा सुरक्षा कार्यालय र नेपाल प्रहरी, निर्वाचन प्रहरीसहित सेनासमेत निर्वाचनमा खटिने भएकाले सीमावर्ती क्षेत्रलाई विशेष निगरानीमा राखिने प्रशासनले जानकारी दिएको छ । २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनभन्दा २०८२ सालमा हुने निर्वाचनका लागि बर्दियामा ११ मतदान स्थल थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नायब सुब्बा अनुप ढकालका अनुसार जिल्लामा कुल ३८७ मतदान स्थल रहेका छन् । उहाँले क्षेत्र नम्बर १ मा ७५ मतदान स्थल र १९९ मतदान केन्द्र रहेको बताउनुभयो । क्षेत्र नम्बर २ मा १८८ मतदान स्थल छन् । आसन्न निर्वाचनमा जिल्लामा तीन लाख २३ हजार २६६ मतदाता छन् । क्षेत्र नम्बर १ मा एक लाख ६८ हजार र क्षेत्र नं. २ मा एक लाख ५५ हजार २३२ मतदाता छन् । २०७९ को निर्वाचनमा बर्दियामा तीन लाख ११ हजार ४१० मतदाता रहेका थिए । जिल्ला सुरक्षा समितिले निर्वाचनका समयमा नेपाल–भारत सीमाक्षेत्र बन्द हुने भए पनि सीमावर्ती क्षेत्रमा थप सुरक्षा व्यवस्था कडा पारिने जनाएको छ ।