• १३ साउन २०८१, आइतबार

स्वास्थ्य उपकरण सहयोग

blog

धनगढी, असार ३१ गते । सुदूरपश्चिम प्रदेश सरकारले धनगढी उपमहानगरपालिकालाई २५ लाख ५३ हजार रुपियाँ बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सञ्चालन गर्न प्रदेश सरकारले सो सहयोग गरेको हो ।

सामाजिक विकासमन्त्री गोविन्दबहादुर बोहराले बुधबार धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला राना थारूलाई संयुक्त रूपमा स्वास्थ्य उपकरण सामग्री हस्तान्तरण गर्नुभयो । धनगढी उपमहानगरपालिकाले नगरको १९ वटै वडामा पाँच वर्षसम्म वडा स्वास्थ्य क्लिनिक सञ्चालनको तयारी गरेको छ । स्वास्थ्योपचारको पहुँचबाट टाढा रहेकासहित सम्पूर्ण नगरवासीलाई लक्षित गरेर साउन १ गतेबाट सो क्लिनिकको सुरुवात गरिँदैछ । 

विशेषज्ञसहितको वडा क्लिनिक सञ्चालनका लागि प्रदेश सरकारले प्रिन्टरसहितको अल्ट्रासाउन्ड मेसिन, १२ च्यानलसहितको अत्याधुनिक ईसीजी मेसिन र मोबाइल ल्याब धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । सो अवसरमा सामाजिक विकासमन्त्री बोहराले नगर प्रमुख÷उपप्रमुखसँग सल्लाह गरेर स्वास्थ्य शिविरका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।