• ३ असार २०८१, सोमबार

अकबरे खुर्सानी खेतीले बदलिएको जीवन

blog

तानसेन, असार ३१ गते । तानसेनका सफल व्यापारी दीपक पाण्डेको परिचय आजभोली फरक भएको छ । सफल व्यापारी र उद्योग वाणिज्य संघको व्यक्ति भनेर चिनिएका रिब्दिकोट गाउँपालिका– २ भुटुकाका दीपक पाण्डेलाई आजभोलि कृषक भनेर चिन्न थालेका छन् । ३० वर्ष तानसेन बजारमा बसेर व्यापारीको परिचय बनाएका पाण्डेले विगत ३ वर्षदेखि भने सफल कृषकको रुपमा चिनिन थाल्नुभएको छ । 

सिजन र बेसिजनको तरकारी खेती गर्ने, बाख्रा पालन भैंसीपालन गर्दै आउनुभएको पाण्डेले अहिले अकबरे खुर्सानी र गाइवस्तुका लागि पौष्टिक घाँसको खेती गर्नुभएको छ । उहाँले १२ रोपनी जग्गामा १२ हजार अकबरे खुर्सानी रोपेको बताउनुभयो । तीन हजारमा एक किलो खुर्सानीको बीउ लिएर सुरु गरेको अकबरे व्यवसायमा उहाँले  १८ हजार बेर्ना उत्पादन गरेर  १२ हजार  बेर्ना लगाएर ६ हजार बेर्ना प्रति गोटा ५ का दरले बिक्री गरेको बताउनुभयो । पाण्डेले अहिलसम्म खुर्सानीमा काम गर्ने कर्मचारीलाई पारिश्रामिक र लगानी करिब दुई लाख लगानी गर्नुभएको छ । 

कृषिलाई प्राथमिकतामा राख्दै योजना बनाएको रिब्दिकोट गाउँपालिकाले भने कृषकलाई सोजेजस्तो र भनेजस्तो अनुदान दिन र सहयोग गर्न नसकेको गुनासो छ । पाण्डेले भन्नुभयो कृषिमा नमुना गाउँपालिका बनाउने योजना बनाएको गाउँपालिकाले ५० प्रतिशत छुटमा प्लाष्टिक सहयोग गरेको पाण्डेले बताउनुभयो । अहिले अकबरे खुसार्नी सामान्य दुई चार किलो बेच्न मिल्ने भएको छ ।  गाउँपालिकाले राखेको लक्ष्य पूरा हुनको लागि कृषिलाई आधुनिकिकरण गर्न पर्ने कृषक बताउछन् । बादरले नखाने र छिटो रोग नलाग्ने तथा चाउचाउ कम्पनीको माग बढी भएकाले, अकबरे खुर्सानीलाई औषधिको रुपमा पनि प्रयोग गरिने भएकाले अहिले रिब्दिकोट गाउँपालिकाका किसानको रोजाइमा अकबरे खुसार्नी परेको हो । 

१२ रोपनीमा रोपेको घाँसबाट राम्रो आम्दानी हुने अपेक्षा पाण्डेको छ । पाण्डेले जस्तै रिब्दिकोट गाउँपालिका– २ का वडा अध्यक्ष ओमप्रकास पोखरेलले पनि ५ रोपनी जग्गामा १० हजार खुर्सानी रोप्नुभएको छ । उहाँले  कृषिमा लगानी गरेर गाउँलाई आर्थिक रुपमा सक्षम बनाउने, देशमा बाहिरबाट खुर्सानी बढी मात्रामा भित्रिरहेको अवस्थामा यहीँ उत्पादन गर्न सके भुटान, भारतबाट आइरहेको खुर्सानी भन्दा सस्तो र गुणस्तरीय खुर्सानी उत्पादन गरी देशलाई समृद्ध बनाउन सहयोग पुग्ने विश्वासले खुर्सानी खेती सुरु गरेको बताउनुहुन्छ ।

युवाहरुलाई कृषिमा प्रेरीत गर्न विभिन्न योजनाहरु बनाएर कृषिमा जोडिन प्रेरित गर्ने गरी गाउँपालिकाले प्रत्येक वडामा कृषिका लागि एक÷एक लाखको दरले बजेट विनियोजन गरेको छ ।


Author

बिन्दु थापा