• १२ माघ २०८२, सोमबार

इन्द्रसरोवर तालमा खस्यो पानी बोक्ने गाडी

blog

अनिल पराजुली    
हेटौँडा, माघ १२ गते ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुचौरस्थित मार्खु–कलङ्की सडक खण्डमा मिनरल वाटर पानी बोकेको आइचर गाडी इन्द्रसरोवर तालमा खसेको छ ।

कलङ्कीबाट मार्खुतर्फ आउँदै गरेको बा ३ ख ३९५४ नम्बरको आइचर गाडी पानी झार्ने क्रममा अचानक अगाडि बढ्न गई सडकबाट करिब १५ मिटर तल इन्द्रसरोवर तालमा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट मार्खु, मकवानपुरबाट प्रहरी सहायक निरीक्षक दीपेश यादवको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको उहाँले बताउनुभयो । हाल आइचर गाडी तालको पानीमा डुबेर बाहिर नदेखिने अवस्थामा रहेको र निकाल्ने कार्यका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ । घटनामा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार आइचर गाडीका मालिक ललितपुर नगरपालिका–११ शङ्खमूल बस्ने दिगज अमात्य, चालक गोरखा सुलिगढ नगरपालिका–१ बस्ने २१ वर्षीय सुजन परियार र सह–चालक मकवानपुर मकवानपुरगढी गाउँपालिका–३ बस्ने १८ वर्षीय सुजन जिम्बा रहनुभएको छ । दुर्घटनास्थल अस्थायी प्रहरी पोस्ट मार्खुबाट करिब ७ सय मिटर पूर्वतर्फ पर्दछ ।