काठमाडौँ, माघ ९ गते । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै निर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गर्दै हुनुहुन्छ । काठमाडौँमा यही माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसका पूर्व महामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन हुनुभएको थियो । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे सभापति थापालगायत सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुले पदवहाली गर्नुहुने पार्टी कार्यालयले जनाएको छ ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ । पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरुकोे उपस्थितिका लागि अनुरोध गरिएको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो । रासस