• ९ माघ २०८२, शुक्रबार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरखडाइ सङ्कलन खुला

blog

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालय । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट

कञ्चनपुर, माघ ९ गते । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खरखडाइ सङ्कलन गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम निकुञ्ज आसपास बस्ने बासिन्दाहरूका लागि यही माघ २२ गतेदेखि खरखडाइ सङ्कलन खुला गरिने भएको हो । 

जसका लागि खरखडाइ सङ्कलन गर्न चाहने व्यक्तिले माघ १९ गतेदेखि २१ गतेसम्म खरखडाइ पुर्जी लिन निकुञ्जको कार्यालयले आग्रह गरेको छ । निकुञ्जको कार्यालयले एक सूचना जारी गर्दे खरखडाइ सङ्कलन गर्न चाहने व्यक्तिले कार्यालय अन्तर्गत मूल गेट, पिपरैया रेन्ज पोस्ट, दोधारा चाँदनी पोस्ट, हात्तीथला पोस्ट, तारापुर पोस्ट, ढक्का रेन्ज पोस्ट र बेल्डाँडी रेन्ज पोस्टबाट खरखडाइ पुर्जी लिन सकिने जनाएको छ । 

निकुञ्ज कार्यालयले खरखडाइ दस्तुर ५० रुपियाँ तोकेको छ । कार्यालयका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले माघ २२ र २३ गते दुई दिन खरखडाइ सङ्कलनका लागि दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाँडी गाउँपालिका अन्तर्गतका ५२ घाटबाट प्रवेश खुला गरिने बताउनुभयो ।

उहाँका अनुसार दोधाराको सगरमाथा उपभोक्ता समिति र चाँदनीको हिमालय उपभोक्ता समिति अन्तर्गतका ४-४ घाट, भीमदत्त नगरपालिकास्थित शुक्लाफाँटा उपभोक्ता समिति अन्तर्गतका १९ घाट, वेदकोट नगरपालिकास्थित वेदकोट उपभोक्ता समितिका ६ घाट, शुक्लाफाँटा नगरपालिकाको सुनदेवी उपभोक्ता समिति र त्रिशक्ति उपभोक्ता समिति अन्तर्गतका ९ घाट तथा सोभाताल उपभोक्ता समिति, कालिकिच उपभोक्ता समिति र बागेश्वरी उपभोक्ता समिति अन्तर्गतका ११ घाटबाट खरखडाइ सङ्कलनका लागि प्रवेश खुला गरिनेछ । 

साथै, खरखडाइ सङ्कलनका क्रममा वन्यजन्तुबाट हुने सम्भावित जोखिमबाट बच्न समूहमा मात्रै हिँड्ने, खरखडाइ, बनकस, नर्कट बाहेकका अन्य काठ दाउरा तथा वन पैदावार सङ्कलन तथा निकासी नगर्न निकुञ्ज कार्यालयले आग्रह गरेको छ । त्यसै गरी, वन्यजन्तुका आखेटोपहार वा प्रतिबन्धित वस्तुहरू निकासी गरिएको पाइए वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारबाही गरिने निकुञ्जको कार्यालयले चेतावनीसमेत दिएको छ । 

खरखडाइ सङ्कलन अवधिभर माघ २२ र २३ गते निकुञ्ज क्षेत्रभित्र रहेका सम्पूर्ण पर्यटकीय गतिविधि बन्द रहने सूचना अधिकारी वाग्लेले जानकारी दिनुभयो ।