हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ ९ गते । जिल्ला प्रशासन कार्यालय मुस्ताङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित इजाजतप्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले गएको पुस महिनामा सूचना जारी गरे पनि अटेर गरेपछि पुनः सूचना जारी गरी माघ १५ गतेसम्म जिल्ला प्रशासन कार्यालय वा इलाका प्रहरी कार्यालयमा हातहतियार बुझाउन सूचना जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले बताउनुभयो ।
गएको माघ ४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकमा इजाजतपत्र प्राप्त हतियारहरु समेत निर्वाचनको समयमा दुरुपयोग हुनसक्ने जोखिमलाई दृष्टिगत गरी जिल्लाभर सङ्कलन गरिएको हातहतियारलाई जिल्ला प्रशासन कार्यालयमै राखिनेछ । तोकिएको समयमा बुझाइएका हातहतियारहरू निर्वाचन कार्य सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने व्यवस्था गरिएको छ भने समय अवधिपछि हातहतियार नबुझाए जफत गरी कानुनी कारवाही अगाडि बढाउने सहायक प्रजिअ भण्डारीको भनाइ छ ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा देशभरबाट हराएका हातहतियारहरु समेत विभिन्न बहानामा प्रवेश गराउन सक्ने जोखिमलाई विचार गरी प्रशासनले नाका क्षेत्रमा निगरानी बढाएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखाका खरिदार प्रकाश पौडेलका अनुसार थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका सर्वसाधारणले इजाजत लिएर राखेका हतियारको सङ्ख्या ७१ वटा छ । इजाजतप्राप्त हातहतियार तथा गोलीगठ्ठाको विवरण पेश गर्न गर्ने समयमै ल्याउने भन्दै धेरैजना सम्पर्कमा आएको प्रशासनले जनाएको छ । इजाजतप्राप्त हतियार तोकिएका शर्तविपरीत सार्वजनिक स्थलमा लिएर हिँड्न निषेध गरिए पनि निर्वाचनको समयमा मात्रै निगरानी हुने गरेको छ । एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा ३९ मतदानस्थलमा कुल ११ हजार तीन सय २८ मतदाता छन् ।