• ९ माघ २०८२, शुक्रबार

१०औँ थारु साहित्य राष्ट्रिय सम्मेलन हुँदै

blog

९ औं सम्मेलनमा पुस्तक किन्दै सहभागीहरु । तस्बिरः सन्तोष दहित

सन्तोष दहित
दाङ, माघ ९ गते ।
माघको दोस्रो सातादेखि १०औँ थारु साहित्य राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । थारु लेखक संघ नेपालको आयोजनामा तथा थारु अतिथि सेवा सदन समितिको व्यवस्थापनमा पटेर्वा सुगौली गाउँपालिका २, बेलवा, पर्सामा माघ १५ देखि १७ गतेसम्म सम्मेलन आयोजना गर्न लागिएको संघका केन्द्रीय अध्यक्ष डा. कृष्णराज सर्वहारीले जानकारी दिनुभयो ।

हरेक वर्ष आयोजना हुँदै आएको यस सम्मेलनमा देशभरका थारु साहित्यकार, लेखक, पत्रकार तथा स्रष्टाहरूको सहभागिता रहनेछ । तीन दिनसम्म चल्ने सम्मेलनमा थारु साहित्यमा बालसाहित्यको अवस्था, कविता वाचन, जेएनजी पुस्ता र थारु समाज, शिक्षण पेशा र सिर्जनात्मक लेखन विषयमा प्यानल छलफल तथा बहस गरिने डा. सर्वहारीले बताउनुभयो । यस्तै, ‘थरुहटके बौवा और बहुरिया’ पुस्तक, बारा र पर्सा लगायत जिल्लाका विभिन्न पालिकामा थारु केन्द्रित भाषिक तथा सांस्कृतिक जागरणको अवस्था साथै बारा, पर्सा र रौतहटमा थारु भाषाको अवस्थाबारे समेत छलफल गरिने उहाँले जानकारी दिनुभयो ।

सम्मेलनअन्तर्गत सांस्कृतिक साँझ, बारा–पर्साका ऐतिहासिक स्थल तथा थारु गाउँ भ्रमण लगायतका कार्यक्रमहरू पनि आयोजना गरिने आयोजकले जनाएको छ । साथै थारु भाषामा प्रकाशित विविध विधाका पुस्तकहरूको बिक्री तथा वितरणका लागि पुस्तक स्टलसमेत राखिने संघले जनाएको छ । भाषा, साहित्य, कला, संस्कृति र इतिहाससम्बन्धी पुस्तकसहित दर्जनौँ विधाका पुस्तकहरू बिक्री–वितरणका लागि उपलब्ध गराइने डा. सर्वहारीले बताउनुभयो ।

यसैबिच सम्मेलनको तयारी करिब ८० प्रतिशत पूरा भइसकेको आयोजकले जनाएको छ । सम्मेलनको उद्घाटन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभा, थारु आयोगका कार्यवाहक अध्यक्ष सुवोधसिंह थारु, आयोग सदस्य भोलाराम चौधरी तथा वरिष्ठ साहित्यकार र सर्जकहरूको सहभागिता रहने संघले जानकारी दिएको छ ।