प्रवीण कुमार शर्मा
रौतहट, माघ ९ गते । सरकार प्रमुख जनताबाट सोझै निर्वाचित हुनुपर्ने जनता समाजवादी पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् पूर्व सांसद गोविन्द चौधरीले बताउनुभएको छ ।
राष्ट्रपति वा प्रधानमन्त्रीलाई जनताले कार्यकारी प्रमुख निर्वाचित गर्नुपर्नेमा उहाँले जोड दिनुहुँदै जनताबाट निर्वाचित कार्यकारी प्रमुखलाई सरकार बनाउने जिम्मा दिनुपर्ने उहाँको धारणा रहेको छ ।
अशिक्षित मान्छे शिक्षामन्त्री, स्वास्थ्यको जानकारी नभएको मान्छे स्वास्थ्यमन्त्री बन्ने परिपाटी रहुन्जेल देश अगाडि बढ्न नसक्ने उहाँको भनाइ छ ।
कानुन बनाएर अनुगमन गर्ने काम, कार्यान्वयन गराउने काम सङ्घीय संसदको रहनुपर्ने उहाँले बताउनुभयो ।
भ्रष्टाचारीलाई कारबाही हैन, कानुन बनाएर मृत्यु दण्ड दिनुपर्ने भनाइ उहाँको छ । सङ्घीय संसदको काम मन्त्री बनाउने नभएर कानुन बनाउने हुनु पर्ने उहाँले बताउनुभयो ।
जनताको आग्रहमा आफु रौतहट निर्वाचन क्षेत्र नं. ३ बाट मनोयन दर्ता गराएको उहाँले बताउनुभयो । रौतहटको गुजरा नगरपालिका – ८ घर भएका ६९ वर्षीय चौधरीले आफ्नो सोच निर्वाचनमा जानुको सट्टा पार्टीलाई सघाउने, जनताको भावना बुझेर काम गर्ने मान्छे, नयाँ पुस्ताका मान्छेलाई उम्मेदवार बनाउने हुँदा हुँदै जनताको दवावमा, जनताको मागमा आफुले मनोयन दर्ता गराएको बताउनुभयो ।
जेनजी आन्दोलनको जगमा भइरहेको यस निर्वाचनको मुख्य उद्देश्य देशमा सुशासन कायम, भ्रष्टाचार र बेथितिको अन्त्य, संविधानमा भएका कमि कमोजोरी सच्याउनेलगायतका कुराहरु रहेको र आफुहरुको मुख्य उद्देश्य पनि त्यहि रहेको उहाँले बताउनुभयो ।
मुलुकमा गरिबी बढेको बताउनुहुँदै उहाँले देशमा इमान्दार, स्वच्छ व्यक्ति प्रतिनिधिको रुपमा निर्वाचित नहुन्जेल विद्यमान समस्या अन्त्य हुन नसक्ने उहाँ धारणा छ ।
संविधान संशोधन, हरेक क्षेत्रलाई सरकारद्वारा निगरानी आजको प्रमुख आवश्यकता रहेको उहाँको भनाइ रहेको छ । निर्वाचन महँगो भएकाले स्वच्छ छविका मान्छे प्रतिनिधिको रुपमा चुनिन गाह्रो रहेको बताउनुहुँदै उहाँले सिस्टम परिवर्तन भएपछि मात्र सर्वहाराको माग सम्बोधन हुने बताउनुभयो ।
२०४८ सालमा स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिनिधि सभामा निर्वाचित ,२०६६ सालमा संविधान सभा सदस्यको रुपमा रहनुभएका चौधरीले आफु जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको, जनतालाई ठग्ने काम नगरेको र निरन्तर रुपमा जनताको सुखदुःखमा रहेका कारण नै जनताले आफुलाई अघि सारेको बताउनुभयो ।