‘एक स्वतन्त्र अनि सार्वभौम नागरिकका लागि मतदान बहुमूल्य अधिकार हो । लोकतान्त्रिक समाजमा हामीसँग भएको यो सबैभन्दा शक्तिशाली अहिंसात्मक हतियार हो, जसलाई हामीले परिवर्तनका लागि प्रयोग गर्नै पर्छ’ अमेरिकी राजनीतिज्ञ जोन लेविसले लोकतन्त्र र मतदानलाई हरेक स्वतन्त्र नागरिकको अधिकार मात्रै नभएर एक विवेकशील नागरिकका लागि देशप्रति निर्वाह गर्नुपर्ने अमूल्य कर्तव्य भनेका छन् ।
हरेक राष्ट्रका लागि एक सभ्य, सुसंस्कृत र उत्तरदायी शासन व्यवस्थाका निम्ति निर्वाचन एक अपरिहार्य परिचक्र हो । जसबाट शासकमाथि प्रश्न गर्न पाउने नागरिकको अधिकार अनि जनतालाई जवाफ दिनुपर्ने राज्यको उत्तरदायित्वलाई सन्तुलित र बरकरार राख्छ । त्यसैले स्वतन्त्र समाजमा निर्वाचनको अपरिहार्यता भएको हो । यो आधुनिक युगको एक त्यस्तो उदाहरण पनि हो, जहाँ जनताको आफ्नो शक्ति निहित हुन्छ र त्यसको भय सधैँ शासक वर्गमाथि रहन्छ । लोकतन्त्रमा त्यो शक्ति भनेको नागरिकसँग भएको एक मात्र सार्वभौम हतियार हो । निर्वाचन आमरूपमा स्थापित विश्वव्यापी लोकतन्त्रको पहिलो सर्त पनि हो । त्यस कारण पनि लोकतन्त्रमा निर्वाचन भनेको अझ उन्नत लोकतन्त्रको एक सुन्दर अभ्यास मात्रै नभएर त्यसलाई निखार्ने एक माध्यम पनि हो । जहाँ जनताका प्रश्न अनि उम्मेदवारका जवाफदेहिताबाट राष्ट्रको भविष्य रेखा कोर्न सकिन्छ । बदल्न सकिन्छ ।
निर्वाचनका अनेकन प्रकार हुन्छन् । आआफ्नै विधि र प्रक्रिया हुन्छन् । सामान्यतया नागरिकले गोप्य मतदानमार्फत आफ्ना प्रतिनिधि चुनेर शासनसत्ताको बागडोर वा नीति निर्माणको तहमा आफैँलाई पु¥याए जत्तिकै भान हुनु वा महसुस हुनु नै मतदान अर्थात् निर्वाचन हो । एक सार्वभौम राष्ट्रका स्वतन्त्र नागरिकको जीवनमा यसले परिवर्तन अनि आफ्ना आवश्यकताका मानक स्थापित गर्न आफ्ना प्रतिनिधिमार्फत छनोट व्यक्त गरिरहेका हुन्छन् । लोकतन्त्रका लागि चुनाव आत्मा पनि हो । जसले जनता र शासकवर्गलाई सधैँ एउटै डोरीमा बाँधिराख्छ । त्यो भनेको जवाफदेहिता हो र लोकतन्त्रमा त्यो अति नै अनिवार्य सर्त पनि हो ।
हाम्रो सिङ्गो राष्ट्र यतिबेला फेरि एउटा निर्वाचनका लागि होमिएको छ । नियमित हुने निर्वाचनभन्दा यसपालिको यो निर्वाचन अलि विशिष्ट समयमा भइरहेको छ । खास गरी भन्ने हो भने २०८२ भदौ २३ को जेनजी विद्रोह अनि अर्को दिनको विध्वंसपछि देशमा जुन उथलपुथल भयो त्यो असाध्यै पीडादायी र भयानक भयो । तथापि लोकतन्त्रमा हरेक विद्रोह स्वीकार्य हुन्छ । राज्यले त्यसलाई सुन्नु पर्छ । राजनीतिक दलले त्यसलाई स्विकार्नु पर्छ र समाजले त्यसलाई आत्मसात् गर्नै पर्छ । परिवर्तनका खातिर हरेक पुस्तालाई विद्रोहको अधिकार छ तर त्यसबाट सिर्जित जुन परिस्थिति भयो त्यो भने अप्रत्याशित नै थियो । नेपालमा भएका हरेक विद्रोहका स्वरूप हेर्दा ती आआफ्नै भिन्नभिन्न प्रकृति छन् । स्वभाव छन् । निश्चित उद्देश्य अनि लक्ष्य जोडिएका छन् । तर यो प्रकारको विध्वंस भने इतिहासमा कहिल्यै भएको थियो । त्यसको मतलब त्यो विद्रोहको भाव खराब थिएन, बरु त्यस क्रममा धमिलिएको समयभित्र जसरी घुसपैठ गरेर विद्रोहको आत्मालाई नै खरानी बनाइयो, त्यसको चर्को मूल्य आज राज्यले नै चुकाउन परिरहेको छ । त्यसको सजाय देशले पाइरहेको छ ।
हाम्रो प्रजातन्त्र, लोकतन्त्र, हाम्रा नागरिक अधिकार राष्ट्र अनि राष्ट्रियताले त्यसको ठुलो मूल्य अझै कैयौँ पुस्तासम्म चुकाउनुपर्ने छ । यो सत्य मात्रै होइन त्यही विध्वंसको एक शाश्वत तथ्य पनि हो । यद्यपि त्यो परिवर्तनको एक बिगुल थियो । विद्रोह चेतको त्यो विस्फोटले हाम्रा सामाजिक, राजनीतिक र यस्ता कैयौँ संरचनामाथि जबर्जस्त हमला गरेको थियो । जो परिवर्तनको एक आह्वान पनि थियो । भ्रष्टाचार, कुशासन अनि अपह्रृत आत्मसम्मानले किचिएका नवपुस्ताको त्यो विद्रोह चेतले गर्दा नै अहिलेको राजनीतिक अनि सामाजिक परिस्थिति, सोच, चिन्तन र मनन बदलिन थालेका छन् । परिवर्तन भनेको यस्तै हो र यसै गरी नै हुने हो । त्यो विद्रोहलाई राज्यले आत्मसात् गरिसकेको छ । थोत्रिएको अनि मक्किइसकेको राजनीतिक संरचना अलि अलि भए पनि बदलिन थालेका छन् ।
‘शासकीय’ राजनीतिक नेतृत्वको सोच परिवर्तन हुन थालेका छन् । नवपुस्ताले बगाएको त्यही रगत अब देशका लागि परिवर्तनको एक महान् मानक पनि बन्न सक्छ । त्यसकै परिणाम वा भनौँ त्यो विद्रोहले बिथोलेको राजनीतिक संरचनालाई त्यही विद्रोहको भाव अनुसार पुनर्संरचना गर्नका निम्ति नै अहिले निर्वाचनमा होमिएका हौँ । संविधानतः आमनिर्वाचनका लागि अझै पनि केही समय बाँकी नै छ । तथापि हामी फेरि एक पटक विद्रोह अनि राजनीतिक विकेकले भरिएका जनतामाझ नयाँ ‘जनमत’ लिन कस्सिएका छौँ । यो कुनै राजनीतिक अहम् वा परिस्थिति बिग्रिएर कसैको स्वार्थमा हुन लागेको मध्यावधि वा आवधिक चुनाव होइन । बरु समय र नागरिकको अभिमत विस्फोटको आवश्यकताले निम्त्याएको यो ऐतिहासिक ‘आकस्मिक’ निर्वाचन हो । त्यस कारण पनि नेपालको राजनीतिक इतिहासमा यो निर्वाचनको आफ्नै महìव सदा रहिरहने छ । यो फगत कुनै व्यक्ति वा राजनीतिक दललाई सत्तामा पु¥याउनका लागि गरिएको निर्वाचन मात्रै होइन । खरानी भएको देशलाई माथि उठाउन, राष्ट्रियता जोगाउन अनि सिङ्गो राष्ट्रको भविष्य निर्माणका लागि पनि यो चुनाव अपरिहार्य थियो । राष्ट्र, राष्ट्रियता अनि आमनागरिकका भावना र सपना खरानी भएको यो समयमा हामी फेरि त्यही खरानी खोस्रिएर उठ्ने तरखरमा छौँ । तसर्थ पनि यो निर्वाचनसँग मात्रै सत्ता, सरकार वा त्यसको शक्ति स्थापनाको स्वार्थ मात्रै नभएर हाम्रो राष्ट्रिय जीवनसँग पनि जोडिएको एउटा परीक्षा पनि हो ।
जेनजी विद्रोहको जगमा बनेको अनि निर्वाचन गराउने मुख्य अभिभारा बोकेको अन्तरिम सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको चुनावका लगभग महत्वपूर्ण चरण अब पूरा भएका छन् । उम्मेदवारी दर्तासँगै अब सबै उम्मेदवार अनि राजनीतिक दल आआफ्नो चुनावी अभियानमा होमिइसकेको अवस्था छ । काल, परिस्थिति यथावत् रहे अबका ४१ औँ दिनमा देशमा स्वच्छ अनि निष्पक्ष मतदान भइसकेको हुने छ । त्यसका लागि सरकारले पनि आआफ्नो बलबुँताले भ्याएसम्म भरपुर प्रयास गरेको देखिन्छ ।
जनविश्वासमा खोटो देखिएका राजनीतिक दलहरू, तिनका उम्मेदवार (नेता) हरू अनि आफूलाई जनताबाटै परिक्षित गराउन मैदानमा उत्रिएका सबै ‘स्वतन्त्र’ उम्मेदवार यति बेला मतदाताका घरघरमा पुग्न थालिसकेका छन् । निर्वाचन भनेको मात्रै जनतासँग भोट माग्ने ‘रमिता’ होइन, बरु यो भनेको जनताको प्रश्नको सही र साँचो जवाफ दिनुपर्ने एक बाध्यात्मक परिस्थिति पनि हो । जसबाट फेरि जनताले आफ्नो अभिमतमार्फत आफ्ना प्रतिनिधिलाई शासनसत्तामा पु¥याउँछन् । त्यसैले लोकतन्त्र भनेको हरेक नागरिकको संवैधानिक अधिकार र कर्तव्य हो । सँगसँगै निर्वाचन भनेको एक आमनागरिकको आफ्नो विवेकको परीक्षा पनि हो । देशमा धेरै प्रकारका धेरै चुनाव भइसकेका छन् र भइरहन्छन् । पटक पटक मतदाताले आफ्नो विवेकको मत प्रयोग गरेर आफ्ना प्रतिनिधि छानोट गर्ने लोकतन्त्रको यो महाउत्सव पनि हो । त्यसमा पनि यस पटकको निर्वाचनको आफ्नै विशिष्टता छ, त्यो भनेको परिस्थितिको विशेषता हो । यस्तो अवस्थामा कसरी आफ्ना प्रतिनिधि छनोट गर्ने भन्ने सार्वभौम अधिकार र विवेक आममतदातामै निहित हुन्छ । हामीले अहिलेसम्म छानेका, चुनेका अनि मत बुझाएका प्रतिनिधिले हाम्रा लागि के कति गरे ? त्यसको निर्मम समीक्षा गर्ने उपयुक्त समय नै यही हो ।
देशका लागि कस्तो नेतृत्व चाहिन्छ, हाम्रो आगामी पुस्ताको भविष्य हामीले कस्तो नेतृत्वलाई सुम्पिँदै छौँ भन्ने कुराको राम्रो हेक्का गर्न सक्ने विवेकशील मतदाताले मात्रै देशको भविष्यमाथि न्याय गर्न सक्छ । विवेकपूर्ण मतदानबाट मात्रै हामी असली रूपमा परीक्षित हुन सक्छौँ । किनकि एउटा नेतृत्व असफल हुनु भनेको मात्रै ऊ असफल हुनु होइन त्यो जिम्मेवारी वा उत्तरदायित्वको एक हिस्सा हामी आममतदाता पनि रहन्छौँ । अनि त्यसको मूल्य हाम्रो राष्ट्र र राष्ट्रियताले लामो समयसम्म चुकाइरहनुपर्ने हुन्छ । त्यसैले मतदान र मतदाताको विवेकबिच अन्योन्याश्रित सम्बन्ध रहन्छ । उसै युग फेरिएको छ, समय फेरिएको छ अनि मान्छेका चेतना फेरिएका छन् । प्रविधिले साँघुरो बनाइराखेको यो वैश्विक युगमा जनता आफैँ सचेत छन् र विवेकशील छन् ।
यो विशिष्ट परिस्थितिमा हुन लागेको विशिष्ट विशेषता बोकेको निर्वाचनका लागि अहिले जुन प्रकारको उत्साह देखिएको छ अझ खास गरी नयाँ पुस्तामा देखिएको उत्साह र सक्रियताले अझ पनि धेरै परिवर्तनका सङ्केत गरेका छन् । राजनीतिक दल वा भनौँ हरेक उम्मेदवार अब त्यही उत्साहको भावलाई आत्मसात् गर्दै निर्वाचनमा होमिन जरुरी छ । यतिबेला देशका कैयौँ ऐतिहासिक धरोहर, न्यायिक निकाय अनि शासकीय संरचना मात्रै ध्वस्त भएका छैनन्, बरु कैयौँ अमूल्य (नवपुस्ता) जीवन पनि समाप्त भएका छन् । हाम्रा कैयौँ छोराछोरी अपाङ्गता जीवन बाँच्न विवश छन्, त्यसबाट उनीहरूको जीवन, सपना र आशा अनि भरोसा मात्रै सबथोक बिथोलिएको छ । राजनीति बिथोलिएको छ, समाजिक संरचना हल्लिएको छ । राष्ट्र अनि राष्ट्रियतामाथि अनेकन आघातका सङ्केत देखा परेका छन् । यस्तो अवस्थामा आगामी फागुन २१ को निर्वाचन जति भव्य, सभ्य अनि स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न हुन्छ, त्यत्ति नै यो राष्ट्रको भविष्य अनि राष्ट्रियता सुरक्षित हुन्छ । अनि मात्रै हाम्रो लोकतन्त्र बाँच्छ ।
‘राष्ट्रियता भनेको हामी सबै हौँ । हामी तपाईंको अधिकार खोसिएपछि राष्ट्र बलियो हुन्छ भन्ने कुरो मलाई मूर्खताको कुरो जस्तो लाग्छ । तपाईंहरू बलियो हुन सक्नुभयो भने, हाम्रो अधिकार रम्रोसँग प्रयोग गर्न सक्यौँ भने राष्ट्र बलियो हुन्छ । निर्धा, निमुखा, अधिकार नभएको, आफ्नो बुद्धिले सोच्न नसक्ने जनताले कहिल्यै पनि राष्ट्रियताको निर्माण गर्न सक्दैनन्’ महान् प्रजातान्त्रिक योद्धा महामानव बिपीले त्यसै भन्नुभएको होइन, ‘राष्ट्रियताका लागि पनि प्रजातन्त्र नभई हुँदैन । आफ्नो राजनीतिक अधिकार खोसिएको जनता राष्ट्रियताप्रति जागरुक हुँदैन । प्रजातन्त्र त्यसै पनि वाञ्छनीय लक्ष्य हो । त्यसमा हाम्रो देशको राष्ट्रियताको संरक्षणका लागि अन् यो आवश्यक भएको छ । त्यसैले मैले राष्ट्रियता र प्रजातन्त्र अन्योनाश्रित छन् भन्दै आएको छु । हाम्रो प्रजातान्त्रिक विचारसँग मेल नखाने तत्वसँग हाम्रो राम्रो सम्बन्ध सम्भव छैन ।’ त्यसैले नयाँ पुस्तालाई प्रजातन्त्र, लोकतन्त्र अनि राष्ट्र र राष्ट्रियताको महत्व बुझाउनका निम्ति पनि यो ऐतिहासिक निर्वाचनको आफ्नै प्रकारको महत्व छ ।