• ९ माघ २०८२, शुक्रबार

तनहुँका आठ अतिसंवेदनशील केन्द्रमा विशेष निगरानी

blog

दमौली स्थित जिल्ला निर्वाचन कार्यालय तनहुँको भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, माघ ९ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँ जिल्लामा अतिसंवेदनशील मतदान केन्द्रहरूमा विशेष सुरक्षा व्यवस्था अपनाइने भएको छ ।

जिल्लाभर तोकिएका तीन सय नौ मतदान केन्द्रमध्ये आठ वटा मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखेर सुरक्षा निकायले उच्च सतर्कता अपनाउने तयारी गरेको हो । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा योजना तयार गरी सोही आधारमा अतिसंवेदनशील मतदान केन्द्र पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो ।

“निर्वाचनलाई कुनै पनि प्रकारको अवाञ्छित गतिविधिबाट टाढा राख्नु हाम्रो मुख्य लक्ष्य हो,” उहाँले भन्नुभयो, “अतिसंवेदनशील केन्द्रहरूमा थप सुरक्षाकर्मी परिचालन, निगरानी कडा बनाउने र तत्काल प्रतिक्रिया प्रणाली सक्रिय राखिनेछ ।”

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ मा मतदाताको सङ्ख्या बढी रहेको छ । क्षेत्र नम्बर १ मा पुरुष ६१ हजार ७ सय ७८ र महिला ६५ हजार एक सय ४ गरी कुल एक लाख २६ हजार आठ सय ८२ मतदाता छन् । क्षेत्र नम्बर २ मा पुरुष ६१ हजार सात सय १३ र महिला ६५ हजार आठ सय २ गरी एक लाख २७ हजार पाँच सय ५४ मतदाता रहेका छन् । मतदाता नामावली दर्ता अभियानमार्फत यस पटक सात हजार तीन सय ९३ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता चाप र सहज मतदान व्यवस्थापनलाई ध्यानमा राख्दै जिल्लामा दुई वटा नयाँ मतदान केन्द्र थप गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको निर्णयअनुसार ऋषिङ गाउँपालिका–४ स्थित पद्मज्योति आधारभूत विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित धर्म आधारभूत विद्यालयमा एक–एक मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन अधिकारी लम्सालले जानकारी दिनुभयो ।