• ९ माघ २०८२, शुक्रबार

शिक्षालाई व्यवहार र मूल्यसँग जोड्न जरुरीः मुख्यमन्त्री आचार्य

blog

सन्तोष दहित
दाङ, माघ ९ गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षालाई पाठ्यपुस्तकमा सीमित नराखी जीवन, व्यवहार र मूल्यसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ । वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले गुणस्तरीय शिक्षामार्फत मात्र सीपयुक्त, जिम्मेवार र प्रतिस्पर्धी जनशक्ति तयार गर्न सकिने बताउनुभएको हो ।

मुख्यमन्त्री आचार्यले वसन्तपञ्चमी ज्ञान, चेतना, विवेक र सुसंस्कारको प्रतीक भएको उल्लेख गर्नुभयो । यस दिन बालबालिकाले अक्षरारम्भ गर्ने, अध्ययन सुरु गर्ने र ज्ञान यात्रामा पहिलो पाइला चाल्ने परम्पराले शिक्षाको महत्त्व र संस्कारलाई समाजमा गहिरो रूपमा स्थापित गरेको उहाँको भनाइ छ । उहाँले शिक्षा जीवनपर्यन्त चल्ने निरन्तर प्रक्रिया भएको बताउँदै यसले व्यक्तिको व्यक्तित्व विकास, सामाजिक चेतना र राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो । गुणस्तरीय र दिगो सिकाइका लागि परिवार, विद्यालय, समुदाय, शैक्षिक संस्था तथा राज्यको साझा भूमिका अपरिहार्य रहेको उहाँले जोड दिनुभयो ।

मुख्यमन्त्री आचार्यका अनुसार लुम्बिनी प्रदेश सरकारले शिक्षाको विकास, पहुँच विस्तार र शैक्षिक गुणस्तर सुधारलाई उच्च प्राथमिकतामा राखेर नीति, योजना र कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । प्रदेश साक्षर घोषणा भइसकेको अवस्थामा अब साक्षरतामै सीमित नरही सीप, जिम्मेवारी र प्रतिस्पर्धामा सक्षम जनशक्ति उत्पादन गर्ने दिशामा सरकार केन्द्रित रहेको उहाँले जानकारी दिनुभयो ।

प्रदेशलाई शिक्षित, सभ्य र समुन्नत बनाउन शिक्षकको प्रतिबद्धता, विद्यार्थीको मेहनत, अभिभावकको सहयोग र समाजको सकारात्मक भूमिकाले निर्णायक योगदान पुर्‍याउने मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गर्नुभयो । शिक्षालाई व्यवहारसँग जोड्दै नैतिकता, अनुशासन र मानवीय मूल्यको विकासका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा उहाँको जोड छ ।