• ८ माघ २०८२, बिहिबार

वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड

blog

राष्ट्रिय सञ्जालले आयोजना गरेको “वैदेशिक रोजगारको भाष्य विनिर्माण” कार्यक्रममा सहभागि ।

काठमाडौँ, माघ ८ गते ।समाजको आर्थिक पक्षमा मात्रै नभई सामाजिक पक्षमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको वैदेशिक रोजगार क्षेत्रप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।  

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आज यहाँ आयोजना गरेको “वैदेशिक रोजगारको भाष्य विनिर्माण” कार्यक्रमका वक्ताहरुले वैदेशिक रोजगारको सकारात्मक पक्षबारे आफ्ना धारणा राखेका थिए । 

उक्त कार्यक्रममा पत्रकार, मानव अधिकारकर्मीलगायतको उपस्थिति थियो।कार्यक्रममा सञ्जालका अध्यक्ष अधिवक्ता कृष्णप्रसाद न्यौपानेले आप्रवासनमा जानेहरुलाई मानवीय दृष्टिले हेरिनु पर्ने बताउनुभयो ।

विदेश जानु कुनै अपराध नभएकाले त्यहाँबाट प्राप्त सीप र ज्ञानको सही सदुपयोग गर्नेतर्फ राज्यले सोच्नुपर्ने उहाँको भनाइ थियो।

पत्रकार बबिता बस्नेतले वैदेशिक रोजगारका विषयमा मिडियाको दृष्टिकोणबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँको कार्यपत्रमा वैदेशिक रोजगारका विषयमा प्रायः नकारात्मक समाचारलाई प्राथमिकता दिइने गरिएको र सकारात्मक विषयहरु उठान गर्न चुकेको निस्कर्ष थियो । 

पौरखी नेपालका अध्यक्ष सत्राकुमारी गुरुङले विदेशबाट फर्किएपछि समाजमा आफूले सुरुका दिनमा भोगेको मनोवैज्ञानिक विभेद सुनाउनुभएको थियो ।

उहाँले वैदेशिक रोजगारमा जाने महिलाहरुलाई समाजले अझै पनि सकारात्मक रुपले नहेर्ने गरेको बताउँदै यही मनोविज्ञानलाई चिर्न पनि संस्थामा आबद्ध भइ अभियान चलाएको प्रष्ट पार्नुभयो ।

वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र मानव अधिकार सम्पन्न बनाउनुपर्नेमा उहाँको जोड थियो । रासस