काठमाडौँ, माघ ८ गते । आइसिसी टी–२० विश्वकप तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपालले श्रीलङ्का ‘ए’ सँग लगातार दोस्रो हार खेपेको छ ।
कोलम्बो कोल्ट्स क्रिकेट क्लब मैदानमा बिहीबार भएको खेलमा नेपाल घरेलु टोली श्रीलङ्कासँग ७३ रनले पराजित भयो ।
जितका लागि श्रीलङ्का ‘ए’ ले दिएको दुई २३ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४९ रनमा समेटियो । नेपाल यसअघि पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो ।
नेपालका लागि करण केसीले सर्वाधिक ४१ रन बनाउनुभयो । यस्तै लोकेश बमले २५ र कप्तान रोहित पौडेलले १८ रन बनाउनुभयो । अन्या ब्याट्सम्यान चल्न सकेनन् ।
बलिङमा श्रीलङ्काका नुवान तुषाराले तीन विकेट लिनुभयो । चरिथ करुणारत्ने र मादी हेमन्थाले दुई दुई विकेट झार्नुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काकाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय २२ रन बनाएको थियो ।
श्रीलङ्काकाका लागि लाहिरु उदाराले ९३ रन बनाउनुभयो । यस्तै सहन आराच्चिगे अविजित ५५ र लसिथ क्रुसपुलेले ५३ रन बनाउनुभयो ।
बलिङमा नेपालका कुशल भुर्तेल र नन्दन यादवले दुई दुई तथा करण केसीले एक विकेट लिनुभयो । दुई टोलीबिच तेस्रो खेल शनिबार हुने छ ।
त्यसपछि नेपाली टोली थप तयारीका लागि उतैबाट टोली भारत जाने छ । नेपालले भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट–११ सँग तीन वटा टी–२० अभ्यास खेल खेल्ने छ ।
विश्वकपमा नेपाल कठिन समूहमा
भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ ।
कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेको छ ।
नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ । नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्ने छ । इटालीले पहिलो पटक विश्वकप खेल्न लागेको हो ।
नेपालले भने तेस्रो पटक विश्वकपको यात्रा तय गरेको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो । विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेको छ । यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानाडा र युएई रहेको छ ।
समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्ने छन् । सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिने छ । त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्ने छन् ।