• ६ जेठ २०८१, आइतबार

बैङ्कले अप्ठ्यारोमा पारेको व्यवसायीको गुनासो

blog

सिराज खान 

नेपालगञ्ज, असार ३० गते । बाँकेका उद्योगी व्यवसायीले बैङ्कले ब्याज र साँवा असुलीमा ताकेता गरेर व्यवसायीलाई झन् अप्ठ्यारोमा पारेको गुनासो गर्नुभएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले बुधबार आयोजना गरेको बैङ्कर र उद्यमी व्यवसायीबीचको अन्तर्क्रियामा उहाँहरूले कोरोना महामारीकै बेलादेखि देखिएको समस्याबाट पार पाउन नसकिरहेको अवस्थामा ऋण र ब्याज असुलीमा कडाइ गरेर बैङ्कले थप समस्यामा पारेको आरोप लगाउनुभयो । 

सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले कोभिड–१९ महामारीलगायतका कारण उद्योग व्यवसाय प्रभावित भएका बेला बैङ्कले व्यवसायीलाई सहयोग गर्नुपर्नेमा यातना दिने पत्र पठाउने र धम्की दिने, फोन गरेर थप पीडा थप्ने काम गरिरहेको बताउनुभयो । 

उद्योगी व्यवसायीले बैङ्कको यस्तो व्यवहारले देशको आर्थिक समस्या घट्नुको साटो झन् बढेर जाने बताउनुभयो । नेपाल राष्ट्र बैङ्क नेपालगञ्ज शाखाका उपनिर्देशक श्यामप्रसाद ढकालले बैङ्क उद्योगी व्यवसायीलाई प्रोत्साहन दिन र सहयोग गर्न खुलेको जनाउँदै बैङ्कहरूले लगानी बढाउँदै लगेको बताउनुभयो । 

उहाँले बैङ्कलाई रकम डुब्ने चिन्ता हुनु स्वाभाविक भएको जनाउँदै केन्द्रको नीति र नियममा चल्नुपर्ने बाध्यताका कारण कतिपय ठाउँमा अप्ठ्यारो लागे पनि बैङ्क र व्यवसायीको सम्बन्ध नङ र मासुको रहेको बताउनुभयो । स्थानीय उद्योगी व्यवसायीका समस्या र गुनासोलाई आफूले जस्ताको तस्तै केन्द्रसम्म पु-याइदिने बताउनुभयो । कार्यक्रममा सहभागी बैङ्कका प्रतिनिधिले कर्जाको ब्याज र साँवा असुलीमा कडाइ गर्नु बैङ्कको रहर नभई बाध्यता भएको बताएका थिए ।