• २० फागुन २०८२, बुधबार

हात्ती–मानव द्वन्द्व न्यूनीकरण गर्न संवाद

blog

हात्तीले भत्काएको घर । तस्बिर : हरिप्रसाद कोइराला

उर्लाबारी समाचारदाता

उर्लाबारी (मोरङ), माघ ६ गते  । तीन वर्षयता मोरङमा मानिस र हात्तीबिच द्वन्द्व बढ्दै गएको अवस्थामा सब डिभिजन वन कार्यालय बेलबारी र बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहले हात्तीविज्ञसँग विद्यार्थी संवाद कार्यक्रम आयोजना गरेको छ ।

बेलबारी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको दोस्रो बेलबारी महोत्सवमा विद्यार्थीलाई मानव–हात्ती सम्बन्ध, हात्तीको चालचलन, व्यवहार र हात्तीबाट बच्ने उपाय सिकाउँदै द्वन्द्व न्यूनीकरण गर्ने उपायका विषयमा छलफल गरेको हो । 

राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख वीरेन्द्र गौतमले  हात्तीको वासस्थान मासिनुु, खानेकुरा नासिनुु र आवतजावत गर्ने बाटोमा नयाँ नयाँ संरचना निर्माण भइदिँदा द्वन्द्व बढेको बताउनु भयो । गौतमका अनुसार हात्तीहरू खानपिन र आहाराको खोजीमा गाउँबस्ती पस्ने गर्छन् । जङ्गलमा हात्तीले खाने वनस्पति मासिँदै गएकाले हात्ती मानव बस्तीसँग नजिकिन बाध्य भएको उहाँको भनाइ छ । गौतमले भन्नुुभयो, “हात्तीले दैनिक करिब दुई सय केजी घाँस तथा अन्न र करिब दुई सय लिटर पानी पिउने गर्छ । पाचन प्रणाली कमजोर भएकाले हात्तीले एकै पटक धेरै नखाने तर निरन्तर खाइरहने गर्छ ।”

हात्तीहरू पुस्तौँदेखि एउटै मार्ग प्रयोग गरेर हिँड्ने गर्छन् । पछिल्लो समय विकासनिर्माणका क्रममा त्यस्ता हात्तीमार्गमा सडक, पुल जस्ता संरचना बनेका छन् । कतिपय हात्तीमार्ग खेतीयोग्य जमिनमा परिणत हुँदा हात्ती अलमलमा पर्ने र फर्किन नसक्ने अवस्था आएको गौतमले जानकारी दिनुभयो । हात्तीले विशेष गरी जाँड, नुन र सखर मन पराउने भएकाले घरमा जाँडरक्सी, नुन, गुड, खुदो जस्ता खाद्य सामग्रीको बास्ना आएमा त्यस्ता घरमा आक्रमण गर्ने गरेको उहाँले बताउनु भयो । यस्तै दुई हात्तीबिच लडाइँ हुँदा हार्ने हात्ती आक्रमक र हिंस्रक बन्ने गरेको अनुभव पनि उहाँले सुनाउनु भयो ।

हात्तीले आफूलाई असर नपरेसम्म बिनाकारण आक्रमण नगर्ने भए पनि ढुङ्गामुढा गर्ने, आगोको पुल्ठा लगाउने, होहल्ला गर्ने जस्ता मानवीय गतिविधिले हात्तीलाई झन् उत्तेजित बनाउने उहाँको भनाइ छ । उहाँले भन्नु भयो, “यस्ता मानवीय गतिविधिले हात्ती डराउँदैनन् । उल्टै इगो राख्छन् र ढिलोचाँडो  त्यस्तो गतिविधि गर्नेलाई आक्रमण गर्छन् ।” 

मानिसले प्रयोग गरेका हात्ती रोक्ने उपायलाई हात्तीले सूक्ष्म रूपमा अध्ययन गरिसकेको पनि गौतमले बताउनु भयो । काँडेतार, खाल्डो खन्ने, ग्यास पड्काउने, पर्खाल लगाउने जस्ता उपाय प्रभावकारी नभएको उहाँको अनुभव छ । सुरुमा ग्यास पड्काउँदा, ड्रोन र हेलिकोप्टर उडाउँदा हात्ती तर्सिए पनि केही वर्षपछि ग्यास पड्किँदा आँखा चिम्लिदिने र ड्रोन, हेलिकोप्टर उडाउँदा बेवास्ता गर्ने गरेको अध्ययनबाट थाहा भएको उहाँले उल्लेख गर्नु भयो । उहाँले हात्ती रोक्न सोलार तारबार सबैभन्दा प्रभावकारी उपाय भएको बताउनु भयो । दाह्रामा करेन्ट नलाग्ने भएकाले साधारण विद्युत् छेकबारसमेत हात्तीले भत्काउने गरेको उहाँको भनाइ छ ।

हात्तीमा अत्यधिक धैर्य गर्ने क्षमता हुने र समूहलाई प्रायः हजुरआमाले नेतृत्व गर्ने गरेको जानकारी दिँदै उहाँले हात्तीले खाएरभन्दा हिँडेर बढी क्षति गर्ने स्पष्ट पार्नु भयो । साथै आफ्नो सन्तान मरेको स्थानलाई हात्तीले अत्यन्त महत्त्व दिने भएकाले मानिस मारेको स्थान र सन्तान मारिएको ठाउँमा हरेक वर्ष हात्ती आउने गरेको उहाँले बताउनु भयो । उहाँका अनुसार हात्तीको समूहभित्र प्रत्येक सदस्यको भूमिका फरक फरक हुने गर्छ । उहाँले मान्छे–हात्ती द्वन्द्व न्यूनीकरणका लागि जङ्गलमा हात्तीका प्रिय खानेकुराको वृक्षरोपण र तालहरू निर्माण गर्नुपर्नेमा जोड दिनुु भयो । मानिसको जङ्गलसँगको निर्भरता बढ्दै गएकाले जोखिम अझ बढ्न सक्ने उहाँको भनाइ थियो । बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेशप्रसाद गिरीले मानव र हात्तीबिच बढेको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले विद्यार्थीका लागि सहजीकरण गरिएको बताउनु भयो । बेलबारी उद्योग वाणिज्य सङ्घले महोत्सवका अवसरमा हरेक दिन दिउँसो वातावरण, उद्योग, कृषि, शिक्षा, प्रविधि र साहित्यका विषयमा विज्ञ बोलाएर विद्यार्थीसँग छलफल गरिरहेको सङ्घका महासचिव विवेक मिश्रले बताउनुु भयो ।