सुलीकोट समाचारदाता
सुलीकोट, माघ ६ गते । गोरखामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आएको छ । लामो समयदेखि बेमौसमी वर्षाले क्षति गरेपछि धान उत्पादनमा गिरावाट आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सूचना अधिकारी सुमन भट्टराईका अनुसार धान रोप्ने बेलामा पर्याप्त पानी नपरेका कारण आकासे पानीको भर पर्दा धेरै ठाउँमा रोपाइँ हुन नसक्दा उत्पादनमा त्यसका प्रभाव परेको हो । रोपाइँ भएपछि भने अत्यधिक वर्षा भएर धेरै हेक्टर रोपाइँ गरेको खेत पनि बगाउनुका साथै कतिपय धान डुबानमा परेर नष्ट भएको उहाँले बताउनुभयो ।
जिल्लामा आठ हजार ६१९ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट यस वर्ष गोरखामा ३१ हजार ७५० मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष १० हजार १४० हेक्टर क्षेत्रफलमा धान रोप्दा ३९ हजार ९५२ मेट्रिक टन धान उत्पादन भएको थियो ।
यस वर्ष १५ प्रतिशत जमिनमा धान रोपाइँ नै हुन नसकेको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष आठ हजार २०२ मेट्रिक टन कम धान फलेकाले समग्रमा २०.५३ प्रतिशतले धान उत्पादनमा कमी आएको भट्टराईले जानकारी दिनुभयो । जिल्लाका ११ पालिकामध्ये चुमनुब्रीबाहेक अन्य १० पालिकामा सबैभन्दा कम धान उत्पादन भएको बारपाक सुलीकोट गाउँपालिका र सहिद लखन गाउँपालिकामा बेमौसमी वर्षाले धान उत्पादनामा कमी ल्याएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।
गोरखामा समयमा वर्षा नभएपछि ब्याडमै बिउ छिप्पिएको र रोपिएको ठाउँमा उत्पादन पनि राम्रो नभएको उहाँले बताउनुभयो । जिल्लामा युएस ३१२ हाइब्रिड, राजा, चयाम्पियन, राम धान, साबित्री, सुक्खा, मन्सुलीलगायतका रैथाने धानका प्रजातिको खेती हुने गरेको छ । धान खेतीको विस्तार र व्यावसायिकीकरणलाई जोड दिँदै प्रधानमन्त्री कृषि आधुनिक परियोजनामार्फत धान खेतीका पकेट, ब्लक जोन, सुपर जोन पनि निर्माण भएका छन् ।
यहाँको दरौदी, चेपे तथा मस्र्याङ्दी, बुढीगण्डकीलगायत ठुला नदी र तिनका सहायक नदी आसपासका फाँटमा परापूर्वकालदेखि नै धान खेती गरिँदै आएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।