गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ६ गते । सामाजिक सुरक्षा कोषमा योगदान सुरु गरेको एक वर्षमै योगदानकर्ताले विशेष सापटी पाउने व्यवस्था लागु भएको छ । योगदानकर्ता सापटी निर्देशिकाको पहिलो संशोधनले हालको प्रावधान हटाउँदै नियमित रूपमा एक वर्ष योगदान गर्ने योगदानकर्तालाई विशेष सापटी दिने निर्णय गरेको हो ।
कोषमा नियमित एक वर्ष योगदान गरेपछि न्यूनतम १० हजार रुपियाँँदेखि अधिकतम आफ्नो अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म पाइने उल्लेख छ । कोषका अनुसार विशेष सापटी रकमको ब्याजदर ५.२ प्रतिशत तोकिएको छ ।
यसअघि यस्तो सापटी लिनका लागि योगदानकर्ताले नियमित तीन वर्ष (३६ महिना) योगदान गर्नुपर्ने प्रावधान थियो । यसअघिको व्यवस्था अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ३६ महिनासम्म नियमित योगदान गरेका २८ हजार योगदानकर्ताले विशेष सापटीस्वरूप आठ अर्ब रुपियाँ लिइसकेका छन् ।
कोषका निर्देशक कृष्ण अधिकारीले योगदानकर्ताको आग्रहमा यसअघि विशेष सापटी लिनका लागि ३६ महिनासम्म योगदान गर्नुपर्ने व्यवस्थालाई नयाँ संशोधनमार्फत घटाएर १२ महिना गरिएको जानकारी दिनुुभयो । अधिकांश योगदानकर्ताले ३६ महिना धेरै लामो समय भएको हुँदा सापटीलाई सहज र सरल गराइनुपर्ने भन्ने सुझावका आधारमा कार्यविधि संशोधन गरेर समयावधि घटाइएको उहाँले जानकारी दिनुुभयो ।
कोषले योगदानकर्ता सापटी निर्देशिका, २०७९ ले गरेको व्यवस्था अनुसार २०७९ भदौ २ गतेदेखि योगदानकर्तालाई विभिन्न चार प्रकारका कर्जा तथा सापटी लिने सुविधा उपलब्ध गराउँदै आएको छ । यसअघिको व्यवस्था अनुसार सबै प्रकारका सापटी लिनका लागि ३६ महिना कोषमा नियमित योगदान गरेको हुनु पथ्र्यो । नयाँ संशोधनले विशेष सापटी १२ महिना (एक वर्ष), घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी १८ महिना (डेढ वर्ष) नियमित योगदान गरेपछि लिन सकिने व्यवस्था गरेको छ ।
कोषका प्रवक्ता अधिकारीले योगदानकर्ताका लागि सहज गराउन एकै पटक चार प्रकारका कर्जा तथा सापटी योजना सुरु गरेको भए पनि सबैभन्दा धेरै विशेष सापटी योजना अन्तर्गत बढी कर्जा प्रवाह भएको र यो समय अवधि घटेपछि अझै बढ्ने दाबी गर्नुभयो । विशेष सापटी अन्य तीन वटा सापटीभन्दा सजिलो र ब्याजदर पनि सस्तो भएकाले योगदानकर्ताले बढी यही योजनालाई मन पराएको हुन सक्ने उहाँको बुझाइ छ । कोषमा हालसम्म २७ लाख ४६ हजार ४६१ जना कोषको योजनामा आबद्ध छन् । जसमा सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने २० लाख ७६ हजार ९८३ जना आबद्ध छन् भने औपचारिकतर्फ छ लाख ६७ हजार ९१८ जना आबद्ध भएका छन् । यस्तै स्वरोजगार र अनौपचारिकतर्फका एक हजार ५६० जना आबद्ध छन् ।