• ५ माघ २०८२, सोमबार

आगामी निर्वाचन सत्ताको प्रतिस्पर्धा मात्र होइन : एमाले अध्यक्ष ओली

blog

पत्रकारसँग कुरा गर्दै नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : गोरखापत्र

बिष्णुप्रसाद पोखरेल

दमक, माघ ५ गते । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन केवल सत्ताको प्रतिस्पर्धा मात्र नभई देशको भविष्य निर्माणसँग जोडिएको विषय भएको बताउनुभएको छ । 

उहाँले स्पष्ट विचार र देश बनाउने एजेन्डासहित जनतामाझ एमाले आएको जनाउदै यस्तो बताउनुभएको हो । सोमबार गृह नगर दमक आउनुभएका ओलीले पत्रकारसँग कुरा गर्दै जनताको जीवन सहज बनाउने, देशलाई आत्मनिर्भर र समृद्ध बनाउने स्पष्ट दृष्टिकोण आफुहरुसँग रहेको बताउनुभयो । मतदाताहरुलाई तर्साउने तथा धम्क्याउने काम नगरी ईच्छाएर अनुसार भोट हाल्ने वातवरण बनाउन उहाँले जोड दिनुभयो ।

निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको अवस्था अझै पूर्ण रूपमा नबनेको बताउदै यो सबैले अनुभुत गरेको बिषय भएको उल्लेख गर्नुभयो । निष्पक्ष र भयरहित निर्वाचनमा चुनौती देखिएको छ, उहाँले भन्नुभयो । 

निर्वाचन लोकतन्त्रको मूल आधार भएकाले यसको विश्वसनीयता र निष्पक्षता सुनिश्चित गर्न शान्ति सुरक्षा अत्यन्तै महत्त्वपूर्ण हुने ओलीले जनाउनुभयो । अध्यक्ष ओलीले पार्टीभित्र उम्मेद्वार चयन र मनोनयन प्रक्रियाबारे ठुलो मतभेद नरहेको बताउनुभएको छ । 

निर्वाचनका लागि उम्मेद्वार चयन मनोनयनको समयसम्म कायम रहने प्रक्रिया भएकाले यसमा अनौठो मान्नुपर्ने अवस्था नरहेको ओलीको भनाई थियो । हामीले उम्मेद्वार मनोनयन प्रक्रियासम्ममा टुंग्याउछौ, उहाँले भन्नुभयो ।

मनोनयनको समयसम्म छलफल, मूल्यांकन र आवश्यक समायोजन हुने ओलीले स्पष्ट पार्नुभयो । पार्टीभित्र कुनै गम्भीर विवाद नरहेको र केही छिटफुट असन्तुष्टि देखिनु स्वाभाविक भएको ओलीले बताउनुभयो । ठूलो पार्टीमा विचार, सुझाव र असन्तुष्टि आउन सक्छन् तर त्यसलाई विवाद भन्न मिल्दैन, उहाँले बताउनुभयो ।

लोकतन्त्रमा जनताको फैसला नै अन्तिम फैसला हुने कुरा दोहोर्‍याउँदै एमाले जनताको निर्णय स्वीकार गर्न सँधै तयार रहेको बताउनुभयो । अन्तिम निर्णय जनताकै हातमा हुन्छ यसर्थ जनताको फैसला नै अन्तिम फैसला हो । निर्वाचनमा जो आएपनि प्रतिस्पर्धाका लागि स्वागत गर्ने उहाँको भनाई थियो । 

जेनजी आन्दोलनपछि ओली पहिलोपटक गृह जिल्ला झापा आउनुभएको हो । उहाँ झापा क्षेत्र नं. ५ बाट उम्मेद्वारी मनोनयनका लागि आउनु भएको र केही दिन झापामा नै रहने नेकपा एमालेका केन्द्रिय सदस्य इन्द्र भण्डारीले बताउनुभयो । सोमबारदेखि नै उहाँले कार्यकर्तासँग भेटघाट सुरु गर्नु भएको छ ।