अविनाश चौधरी
धनगढी, माघ ५ गते । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।
सो कार्यालयले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आलोपालो हुनेगरी मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको हो । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मङ्गलबार उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विहान साढे १० बजेदेखि १२ बजेसम्म स्वतन्त्र उम्मेदवार तथा अन्य दलहरुले मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।
यसैगरी, दिउँसो १२ देखि १२ः३० बजेसम्म नागरिक उन्मुक्ति पार्टीले मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको छ । यस्तै, साढे १२ देखि १ बजेसम्म राष्ट्रिय स्वतन्त्रता पार्टी, १ देखि २ बजेसम्म नेपाली कम्युनिष्ट पार्टी, २ देखि ३ बजेसम्म नेपाली कांग्रेस पार्टीले मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको सहायक निर्वाचन अधिकृत चेन्तराज पन्तले जानकारी दिनुभयो ।
यसैगरी, ३ बजेदेखि ३ः३० बजेसम्म राष्ट्रिय जनमोर्चा पार्टी, ३ः३० देखि ४ बजेसम्म नेकपा संयुक्त र ४ देखि ५ बजेसम्म नेकपा (एमाले) ले मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको छ । मनोनयनपत्र दर्ता गर्ने कार्यलाई व्यवस्थित गर्न यो समय सारणी प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मनोनयनपत्र विहान १० देखि बेलुका ५ बजेसम्म जुनसुकै समयमा दर्ता गर्न सकिने पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।